दूधको मूल्य : किसानले ९ रुपैयाँ पाउँदा बिचौलियाले पाउँछन् १६

हिमाल प्रेस ३ चैत २०७९ १५:५३
64
SHARES
दूधको मूल्य : किसानले ९ रुपैयाँ पाउँदा बिचौलियाले पाउँछन् १६

काठमाडौँ- फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो। किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढेपछि सरकारले दूधको न्यूनतम मूल्य निर्धारण गरेको हो।

किसानबाट उत्पादित दूध उपभोक्तासम्म पुर्‍याउने भूमिका खेल्ने यिनै ‘बिचौलिया’ले बढेको मूल्यको दोब्बर फाइदा आफैँले पाउने गरी मूल्य निर्धारण गरेका छन्।मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ८.८६ रुपैयाँले बढाएको थियो। तर सरकारी संस्थान दुग्ध विकास संस्थान र विभिन्न डेरी एसोसियसनहरूले मूल्य १६ रुपैयाँसम्म बढाएका छन्।

बिहीबारदेखि किसानले कच्चा दूधको मूल्य ६५ रुपैयाँ पाउन थालेका छन्। त्यही दूध उपभोक्ताले किन्दा ९० रुपैयाँ तिर्नुपरेको छ। बिहीबारदेखि लागू हुने गरी दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको छ।

डीडीसीले नीलो प्याकेटको दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाएर ९७ रुपैयाँ पुर्‍याएको छ। यो मूल्य काठमाडौँ उपत्यका, विराटनगर, जनकपुर र हेटौँडा क्षेत्रमा लागू हुनेछ।

त्यस्तै बुटवल क्षेत्रमा ९४ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा ९२ रुपैयाँ कायम भएको डीडीसीले जनाएको छ। गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढेको छ। उपभोक्ताले अब गाईको दूध प्रतिलिटर ११६ रुपैयाँमा खरिद गर्नुपर्नेछ। त्यस्तै कच्चा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ।

डीडीसीको हरियो प्याकेटको क्रिमयुक्त दूधको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ। जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्ने भएको छ।

दूध उत्पादनको लागत बढेको भन्दै दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयसमक्ष प्रस्ताव गरेका थिए।

प्रकाशित: ३ चैत २०७९ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =