बी डिभिजन लिग आयोजना गर्न एन्फा गम्भीर नभएको १३ क्लबको आरोप

हिमाल प्रेस ३ चैत २०७९ १३:५२
8
SHARES
बी डिभिजन लिग आयोजना गर्न एन्फा गम्भीर नभएको १३ क्लबको आरोप

काठमाडौँ- यतिबेला काठमाडौँ र ललितपुरमा सहिद स्मारक ए डिभिजन लिग जारी छ। घरेलु फुटबलको शीर्ष श्रेणीको लिगमा पाँचौँ चरणका खेल भरहँदा दोस्रो श्रेणीको लिग बी डिभिजन लिगका क्लब भने आन्दोलित बनेका छन्। बी डिभिजन लिग सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) गम्भीर नभएको आरोप क्लबहरूले लगाएका छन्।

बी डिभिजन लिगका १४ मध्ये १३ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग सञ्चालन गर्न एन्फाले स्पष्ट र चित्तबुझ्दो मार्गचित्र बन्न नसेकेको बताए। एन्फालाई दबाब दिने अभियानमा ब्रिगेड ब्वाइज, मध्यपुर युथ, नयाँ बस्ती युथ, बाँसबारी, कुमारी, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, श्री टुसाल युथ, ब्वाइज युनियन, आरसिटी, श्री भगवती, च्यासल युथ र झापा फुटबल क्लब छन् । एन्फा उपाध्ययक्ष दावा लामा नेतृत्वको क्लब प्लानिङ ब्वाइज भने यो अभियानमा छैन।

गत असोज १२ मा एन्फाको विशेष साधारण सभाले बी डिभिजन लिग आयोजना गर्ने एजेन्डा पारित गरेको थियो। त्यसपछि पुस २६ मा एन्फा र क्लबहरुबीच भएको छलफलमा चैत १५ बाट लिग सुरु गर्ने सहमति भयो। तर लिग मितिमा सहमति भए पनि लिग आयोजनाको आवश्यक तयारी नभएको क्लबहरुको आरोप छ।

गत वर्ष भएको लिगकै तयारी खर्च अहिलेसम्म नपाए पनि एन्फाको वार्षिक कार्यक्रममा अवरोध नपुगोस् भनेर आफूहरू लिग खेल्न तयार रहेको क्लबहरुको भनाइ छ। एन्फाले माघ २८ भित्र तयारी खर्चको पहिलो किस्ता दिने वाचा गरेको भए पनि हालसम्म नपाएको उनीहरूको गुनासो छ। एन्फाले पहिलो किस्ता स्वरुप आठ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउनु पर्नेछ। एन्फाले उपलब्ध गराउनु पर्ने कुल तयारी खर्च १४ लाख ५० हजार हो।

एन्फाले तयारी खर्चको पहिलो किस्ता उपलब्ध गराएपछि बी डिभिजनका क्लबहरुले चैत ६ सम्ममा टिम दर्ता गर्ने सहमति भएको थियो। तर तयारी खर्च नपाएपछि १४ क्लबका प्रतिनिधिले एन्फा अध्यक्ष र महासचिवसमक्ष ध्यानाकर्षण पत्र बुझाएका थिए।

एन्फा अध्यक्ष र महासचिवले लिग समयमै आवश्वासन दिएको तर त्यसका लागि आवश्यक तयारी नभएको देखिएपछि क्लबहरूले फागुन १७ गते ज्ञापन पत्र बुझाएका थिए। तयारी खर्च निकासाका लागि सम्झौता पत्रामा हस्ताक्षर भइसकेको भए पनि रकम अहिलेसम्म नपाएको क्लबहरुको भनाइ छ।

‘एन्फाको आश्वसनपछि पुसको अन्तिम साताबाट क्लबहरुले लिगका लागि तयारी गरिरहेका छन्। मोफसलका खेलाडीलाई खानेबस्ने व्यवस्था, मेडिकल, खेल सामग्रीलगायतमा खर्च भइरहेको छ। कोभिड–१९ महामारीपछि थला परेको अर्थतन्त्रका कारण कठिन अवस्था भोगिरहेको अवस्थामा लिग हुने वातावरण नदेख्दा हामी चिन्तित भएका छौँ। एन्फाले लिग नगरे, क्लबहरुले गरेको खर्चको क्षतिपूर्ति कहिले दिने भन्ने जटिल अवस्था सिर्जना भएको छ,’ प्लानिङ ब्वाइजबाहेकका १३ क्लबले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा भनिएको छ।

‘पहिले गरिएको घोषणा अनुसार क्लबहरु चैत १५ बाट लिग खेल्न तयार छन्। तर लिग सुरु हुनु ४५ दिनअघि दिने भनिएको तयारी खर्च दिइएको छैन। यस्तोमा लिग घोषित मितिमा हुन्छ भनेर कसरी पत्याउनु?’ मध्यपुर युथ एकेडेमीका अध्यक्ष उपेन्द्रमान सिंहले प्रश्न गरे, ‘बी डिभिजन लिग खेलाडी उत्पादन गर्न थलो हो। पाँच सय खेलाडी संलग्न हुन्छन्। लिग नभए उनीहरू बेरोजगार हुन् अवस्था छ। क्लबहरुले तयारीका लागि लाखौँ रकम खर्च गरिसके। यसको क्षतिपूर्ति कसले दिन्छ?’

बी डिभिजनकै सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले समयै लिग नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए। ‘ए डिभिजन लिग नभए क्षतिपूर्ति दिने सम्झौता एन्फाले गरेको छ। बी डिभिजनको हकमा पनि सम्झौता गर्नुपर्छ। समयमा लिग गरौँ भनेर हामीले एन्फालाई पटक पटक ध्यानाकर्षण गराएका छौँ। तर एन्फाले चासो दिएको छैन,’ पराजुलीले भने।

गत वर्षको बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। च्याम्पियन चर्च ब्वाइज र उपविजेता खुमलटार युथ क्लब हाल जारी ए डिभिजन लिग खेलिरहेका छन्। चर्च ब्वाइज पहिलो श्रेणीको लिगको शीर्षस्थानमा छ। झापा फुटबल क्लब र प्लानिङ ब्वाइज सी डिभिजनको विजेता र उपविजेताको हैसियतमा बी डिभिजनमा आइपुगेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =