शान्ति र मानवता खोज्दै ५ सय जना बने अल्पकालीन भिक्षु

विनोद परियार २ चैत २०७९ २०:०९
52
SHARES
शान्ति र मानवता खोज्दै ५ सय जना बने अल्पकालीन भिक्षु लुम्बिनी मायादेवी मन्दिर परिसरमा कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) ग्रहण कार्यक्रममा सहभागीहरू।तस्बिर- विनोद/हिमाल प्रेस

लुम्बिनी– कैलाली घोडाघोडीका दिलिप सुनार हिन्दू धर्मसंस्कार हुर्किए। तर, उमेरले ४२ वर्ष पूरा गर्दासम्म पनि मनमा शान्ति नभेटेपछि बिहीबार बुद्धजन्मस्थल लुम्बिनीमा अल्पकालीन भिक्षु बनेका छन्।

हिन्दू संस्कारमा जन्मिएर हुर्किए पनि त्यहाँभित्र रहेको भेदभाव र कुप्रथासँग लड्न नसकेपछि आफु बुद्धलाई पछ्याउँदै अल्पकालीन भिक्षु बन्न आइपुगेको सुनार बताउँछन्। ‘बुद्धले मानवलाई जोड्नुहुदो रहेछ,’पहेँलो बस्त्र धारण गरेपछि उत्साही हुँदै सुनारले भने,‘अब बुद्धकै शिक्षाबाट अगाडि बढ्ने कोसिस गर्नेछु।’

सुनार मात्रै होइन, शान्ति र मानवता खोज्दै बुद्धको अनुयायी बनेका छन् ललितपुर हरिसिद्धिका सञ्जीवकुमार शाक्य। चित्रकारसमेत रहेका शाक्यले बुद्धलाई नजिकबाट बुझ्न र आफुलाई चिन्न अल्पकालीन भिक्षु (प्रव्रज्या) ग्रहण गरेको बताए। सुनार र शाक्य त उदाहरणीय पात्र मात्र हुन्।

बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजित कुलपुत्र प्रव्रज्या कार्यक्रममार्फत ५ सय जना अल्पकालीन भिक्षु बनेका छन्।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा बिहीबार मायादेवी मन्दिर प्रांगणमा ५ सय जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो।

अखिल नेपाल भिक्षु महासंघका महास्थवीर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गरे।

अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका सय वटा नियम पालना गर्नुपर्नेछ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियमा आफुलाई रूपान्तरण गर्नुपर्ने छ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी ५ सय जनाको केश मुन्डन गरिएको थियो। केश मुन्डन गरिए पनि बिहीबार मात्रै उनीहरूले प्रवज्या गरि अल्पकालीन भिक्षुका रूपमा पहेँलो चिवर लगाउन योग्य भएका हुन्।

चिवर प्रदान एवम् कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय)ले भगवान बुद्धको जन्मस्थलमा अल्पकालीन समयका लागि भए पनि प्रव्रज्यामा सहभागी हुनेहरूलाई स्वागत गरे।

बुद्ध जन्मेकै देशका नागरिकहरू यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान कार्य भएको उनले बताए। बुद्ध शिक्षालाई सतही रूपमा मात्रै नभई बुद्धभूमिकै आएर प्रव्रज्या (अल्पकालीन भिक्षु) ग्रहण गरी व्यवहारमै बुझ्नु अत्यन्तै सकरात्मक रहेको उनको भनाइ छ।

कार्यक्रममा अखिल नेपाल भिक्षु संघका महास्थवीर शोभनले भिक्षु संघको निर्देशन अनुसार प्रव्रज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकाहरूलाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अगाल्न आग्रह गरे।

बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रव्रज्या( अल्पकालीन भिक्षु ) कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

एकै दिन ५ सय जना अल्पकालीन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवर्द्धन र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्ने उनले जनाए। कोभिडअघि सन् २०११ मा १ हजार, २०१५ मा १ हजार ११२ जना र सन् २०१९ मा १ हजार ११९ जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवम् कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले जानकारी दिए।

कोभिडका कारण अहिले संख्या घटाएर ५ सय गराइएको र आगामि दिनमा एकै दिन १० हजारलाई प्रव्रज्या गराइने योजना रहेको शाक्यले बताए।

प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरू विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सोवोध भिक्षुलगायतको उपस्थिति थियो। प्रव्रज्यामा नेपालका २० बढी जिल्लाबाट सहभागिता छ। चैत १७ गते अल्पकालीन भिक्षुहरूको समय सकिनेछ।

प्रकाशित: २ चैत २०७९ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =