च्याम्पियन्स लिग राउन्डअप : आत्मविश्वासी रियललाई पछ्याउँदै महत्त्वकांक्षी नापोली

हिमाल प्रेस २ चैत २०७९ ११:५१
12
SHARES
च्याम्पियन्स लिग राउन्डअप : आत्मविश्वासी रियललाई पछ्याउँदै महत्त्वकांक्षी नापोली

काठमाडौँ- च्याम्पियन्स लिग क्वार्टरफाइनलको समीकरण पूरा भएको छ। बुधबार राति नापोलीले फ्रान्कफर्ट र रियल म्यड्रिडले लिभरपुललाई पराजित गरेपछि अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेको हो।

अन्तिम दुई प्रिक्वार्टरफाइनल खेलमा नापोलीले जर्मनीको फ्रान्कफर्टमाथि ३–० को जित हासिल गर्‍यो। उता रियलले आफ्नो मैदानमा लिभरपुललाई १–० ले पाखा लगायो। समग्रमा नापोली र रियल क्रमशः ५-० र ६-२ ले अघि रहे।

यसपालिको च्याम्पियन्स लिग इटालेली क्लबहरुका लागि स्मरणीय बनेको छ। किनभने सन् २००५/०६ पछि पहिलो पटक तीन इटालेली क्लब क्वार्टरफाइनलमा पुगेका छन्। त्यसबेला इन्टर मिलान, एसी मिलान र युभेन्टसले क्वार्टरफाइनलमा स्थान बनाएका थिए।

यसपल्ट नापोलीसँगै मिलान सहरका दुई क्लब अन्तिम आठमा पुगेका हुन्। इन्टर एफसी पोर्टोलाई र मिलान टोटनहमलाई समान १-० ले निराश बनाउँदै च्याम्पियन्स लिगको अर्को चरणमा पुग्न सफल भएका हुन्।

क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने अन्य टिममा म्यानचेस्टर सिटी, बायर्न म्युनिख, बेनफिका र चेल्सी छन्। प्रिक्वार्टरफाइनलमा सिटीले आरबी लाइपजिगलाई ८-१ ले पन्छायो भने बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० ले पराजित गर्‍यो। उता बेनफिकाले क्लब ब्रगमाथि ७-१ को फराकिलो जित दर्ता गर्दा चेल्सीले बोरुसिया डर्टमन्डमाथि २-१ को जित दर्ता गरेको थियो।

नापोलीको सपना
सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नापोली च्याम्पियन्स लिगमा पनि उत्तिकै सशक्त प्रदर्शन गरिरहेको छ। गत सिजन युरोपा लिग जितेर यसपालि च्याम्पियन्स लिग खेल्न पाएको फ्रान्कफर्टलाई नापोलीले सजिलै पन्छाउनु त्यसकै उदाहरण हो।

नापोलीले पहिलो लेगमा २-० को विजयी हासिल गर्दा गोल गरेको भिक्टर ओसिमेनले बुधबार राति दुई गोल गरे। नापोलीका तीन गोलमध्ये एक पिटर जेलेन्स्कीको नाममा रह्यो। स्टाडियो डिएगो अर्मान्डो म्यारडनामा सजिलो जित हात पारेपछि नापोली पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो।

सन् १९९० पछि पहिलो पटक सिरी ए च्याम्पियन बन्ने लक्ष्यमा रहेको नापोलीले च्याम्पियन्स लिग जित्ने सपना पनि देखिरहेको ओसिमेनको भनाइ छ। ‘यो जितका कारण इतिहास बनेको छ। तर हामी यतिमै रोकिा चाहँदैनौँ। फेरि हामीसँग च्याम्पियन्स लिग जित्नसक्ने टिम पनि छ। प्रशिक्षक कति प्रतिभावान् हुनुहुन्छ भन्ने त भन्नै परेन। हामी आशावादी छौँ। मलाई लाग्छ हामी उपाधि दाबेदार हौँ,’ ओसिमेनले भनेका छन्।

ओसिमेन जस्ता खेलाडीको उपस्थितिका कारण युरोपेली फुटबलमा आक्रामक टिमको छवि बनाएको नापोली निरन्तर गोल गरिरहेको छ। सिरी ‘ए’ मा नापोलीले कुल ६० गोल गर्दा ओसिमेनले १९ गोल गरेका छन्। सबैखाले प्रतियोगितामा गरेर ओसिमेनले २३ गोल गरिसकेका छन्।

उता लुसियानो स्पालेट्टी भने आफ्नो टिमको लयले फुर्किएका छैनन्। केही समयअघि पेप ग्वार्डिओलाले नापोलीलाई युरोपकै उत्कृष्ट टिम भनेर दिएको अभिव्यक्तिलाई पनि स्पालेट्टीले खारेज गरिदिए। ‘यो कुरा सत्य होइन। यो केवल एउटा मानसिक खेल हो, आफ्नो विपक्षी टिमलाई उकास्ने। यो तरिकाबारे हामी सबै जानकार छौँ,’ स्पालेट्टीले भने।

बुन्डेसलिगाको छैटौँ स्थानमा रहेको फ्रान्कफर्ट नेपल्सस्थित नापोलीको मैदानमा मुख्य स्ट्राइकर रान्डल कोलो मुआनीबिना उत्रिएको थियो। पहिलो लेगमा रातो कार्ड पाएका मुआनी नभएपछि फ्रान्फकर्टले नापोलीको रक्षापंक्तिलाई दुःख दिन सकेन।

फ्रान्कफर्ट हारेकै रात उसका समर्थक नापल्सका स्थानीय प्रहरीसँग झडपमा उत्रिए। दोस्रो लेगका लागि टिकट नलिने फ्रान्कफर्टको निर्णयका बाबजुद उसका हजारौँ समर्थक बिनाटिकट नै इटाली पुगेका थिए।

पहिलो लेगमा दुई क्लबका समर्थकबीच झडप भएका कारण दोस्रो लेगमा जर्मन समर्थकलाई नेपल्समा प्रवेश निषेध गर्ने इटालेली प्रहरीको निर्णय थियो। तर पछि यो निर्णयमा थोरै परिवर्तन गरेर फ्रान्कफर्टबाहेकका ठाउँका जर्मनलाई प्रवेश अनुमति दिने बताइएको थियो।

आत्मविश्वासी रियल म्याड्रिड
सान्टियागो बेर्नाबेउमा लिभरपुललाई पराजित गरेपछि रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सिलोट्टीले आफ्ना खेलाडीले आत्मविश्वासका साथ खेलेको प्रतिक्रिया दिए। १४ पटकको च्याम्पियन रियलका लागि घरेलु मैदानमा करिम बेन्जेमाले गोल गरे। बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए।

यी दुई खेलाडीको बलमा रियल एनफिल्डमा फराकिलो जित दर्ता गर्न सफल भएको थियो। लिभरपुललाई उसकै मैदानमा हारको स्वाद चखाउन बेन्जेमा र भिनिसियसले दुई-दुई गोल गरेका थिए।

गत सिजन च्याम्पियन्स लिग जित्दा फाइनलमा रियलले लिभरपुललाई नै पराजित गरेको थियो। त्यसबेला रियलको फाइनल यात्रा कम स्मरणीय थिएन। नकआउट चरणमा रियलले पीएसजी, चेल्सी र सिटीविरुद्ध पुनरागमन जित दर्ता गरेको थियो।

त्यही अनुभवका कारण अहिले रियलका खेलाडी आत्मविश्वासी बनेको एन्सिलोट्टीको भनाइ थियो। ‘गत वर्ष जे भयो, त्यसले रियलका खेलाडीमा जस्तो खेल पनि जित्ने विश्वास जगाएको छ। फलतः लिभरपुल जस्तो बलियो टिमसँग हामीले बलियो प्रदर्शन गर्न सक्यौँ,’ एन्सिलोट्टीले भने, ‘तर आत्मविश्वासले मात्र सेमिफाइनल पुग्न सकिँदैन। यसका लागि हामीले सबैलाई छक्क पार्नेगरि खेल्न जरुरी छ। किनभने च्याम्पियन्स लिग कठिन प्रतियोगिता हो,’ एन्सिलोट्टीले भने।

एन्सिलोट्टीले लिभरपुलसँग अनुभवी र युवा खेलाडीको सम्मिश्रण भएको टिम मैदानमा उतारेका थिए। मिडफिल्डमा लुका मोड्रिच र टोनी क्रुस जस्ता भेट्रान मिडफिल्डरलाई युवा एडुवार्दो कामाभिंगाले साथ दिए।

‘खेलमा माहोल खेलाडी आफैँले बनाउने हो। यसमा भेट्रान खेलाडीहरूको भूमिका विशेष रहन्छ। यी खेलाडी बिना कुनै इगो खेल्न सक्छन्। यी खेलाडीकै कारण युवा खेलाडी सजिलो मानेर खेल्न सक्छन्,’ एन्सिलोट्टीले भने।

लिभरपुलका प्रशिक्षक योर्गन क्लपले रियलले युरोपेली क्लब फुटबलमा देखाउने मानसिकताको तारिफ गरे। ‘युरोपेली क्लब फुटबलमा रियलले आफूलाई बलियो ढंगले प्रस्तुत गर्छ। गत सिजन रियलको प्रदर्शन अस्वभाविक थियो। यसपटक रियलले कति लामो यात्रा गर्छ, हेर्न बाँकी छ,’ क्लपले भने।

क्पलपले च्याम्पियन्स लिगको सम्भावित विजेताबारे अनुमान लगाउन सकेनन्। ‘म साँच्चै भन्न सक्दिनँ, कसले जित्छ भनेर। यो प्रतियोगिताका बाँकी खेल हेर्न रमाइलो हुनेछ। दुर्भाग्यवश हामी टाढै बसेर हेर्न बाध्य छौँ,’ क्लपको भनाइ थियो।

प्रकाशित: २ चैत २०७९ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =