विभागीय डर्बीमा एपीएफको साँघुरो जित

हिमाल प्रेस १ चैत २०७९ १७:१४
8
SHARES
विभागीय डर्बीमा एपीएफको साँघुरो जित

काठमाडौँ- त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हार व्यहोरेको छ। आर्मीलाई च्यासल रंगशालामा बुधबार विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ फुटबल क्लबले १–० को अन्तरले हराएको हो।

एपीएफलाई जारी सिजनको दोस्रो जित दिलाउन मणी कुमार लामाले ३७ औँ मिनेटमा गोल गरे। मणीले लिगमा दोस्रो पटक गोल गरेका हुन्। एपीएफले आफ्नो पहिलो खेलमा थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दा पनि मणीले गोल गरेका थिए।

आर्मीलाई हराएसँगै एपीएफ तेस्रो स्थानमा उक्लिएको छ। गत सिजन १३ खेलबाट १५ अंक बटुलेर आठौँ बनेको एपीएफले यसपालि चार खेलबाट सात अंक जोडिसकेको छ। शीर्ष दुईमा रहेका चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबको क्रमशः नौ र सात अंक छ।

चौथो र पाँचौँ स्थानमा रहेका जावलाखेल युथ क्लब र थ्रीस्टारसँग पनि सात–सात अंक छ। तर गोल अन्तरमा यी दुई टिम एपीएफभन्दा तल रहेका हुन्। चार खेलमध्ये एकमा जित र दुईमा बराबरी गरेको आर्मी भने आठौँ स्थानमा सीमित छ।

एपीएफको मुभ गोलरक्षक एंजल श्रेष्ठबाट सुरु भएको थियो। एंजलको गोल किकबाट आएको बललाई अर्मान्ड बिडौमले फ्लिक गरेका थिए। नवीन लामालाई मार्क गरिरहेका विकास खवासले बिडौमको फ्लिकलाई क्लियर गर्ने प्रयास गरे। उनको खराब क्लियरका कारण बल लेफ्ट विंगबाट दौडिरहेका विपन श्रेष्ठले भेटे। त्यसपछि विपनले दिएको क्रसलाई मणी कुमार लामाले गोलमा परिणत गरे।

प्रकाशित: १ चैत २०७९ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =