वितरणतर्फको विद्युत चुहावट ७.९९ प्रतिशतमा झर्‍यो

हिमाल प्रेस १ चैत २०७९ १६:१६
2
SHARE
वितरणतर्फको विद्युत चुहावट ७.९९ प्रतिशतमा झर्‍यो

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा झरेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार साउनदेखि माघसम्म मुलुकभर वितरणतर्फको चुहावट ७.९९ प्रतिशतमा सीमित भएको हाे।

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट चुहावट नियन्त्रण भएको प्राधिकरणले जानकारी दिएको छ।

उक्त चुहावट गत वर्षको सोही अवधिको सञ्चित चुहावटको तुलनामा १.६६ प्रतिशतले घटेको प्राधिकरणको भनाइ छ।
गत वर्ष माघसम्म वितरणतर्फको विद्युत चुहावट ९.६५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ।

यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशतले घटेर ४.८९ प्रतिशतमा झरेको प्राधिकरणले बताएको छ। गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो।

प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत चुहावट १२.५९ प्रतिशतमा सीमित भएको प्राधिकरणको दाबी छ। गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो।

चालु आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत प्राप्त भएकोमा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत बिक्री भएको छ। ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ।

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैह्रप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाउने बताए। यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको उनको भनाइ छ। ‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरू फेरिएका छन्,’ घिसिङले भने, ‘नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालमा आएका छन्, सबस्टेसनको स्तरोन्नतिले औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ।’

प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीका कारण चुहावट नियन्त्रणमा आएको कुलमानले बताए।

प्रकाशित: १ चैत २०७९ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =