स्ववियु निर्वाचन : इन्जिनियरिङ अध्ययन संस्थान पोखराका दुई विद्यार्थीले थाले अनशन

हिमाल प्रेस १ चैत २०७९ १४:३५
6
SHARES
स्ववियु निर्वाचन : इन्जिनियरिङ अध्ययन संस्थान पोखराका दुई विद्यार्थीले थाले अनशन

पोखरा- स्ववियु निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिँदै जाँदा पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, पोखरामा नेविसंघको एउटा समूहले सुरु गरेको छ।

टिकट वितरणमा नेविसंघ जिल्लाले हस्तक्षेप गरेकोमा असन्तुष्ट सो समूहले बुधबारदेखि लामाचौरस्थित क्याम्पस गेटअघि अनशन सुरु गरेको हो। विद्यार्थी सन्तोष थपलिया र विभिषण ओली अहिले अनशनमा बसेका छन्।

निर्वाचन अधिकृत राजेश भट्टराईले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यतालिका फेरि पुरानै प्रक्रियाबाट सुरु गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन्। साथै हस्तक्षेपकारी नीति अन्त्य हुनुपर्ने आफूहरूको माग रहेको नेविसंघ क्याम्पस इकाइ समिति उपसभापति विवेक घिमिरेले बताए।

चैत ५ का लागि तय गरिएको स्ववियु निर्वाचनका लागि गत फागुन २७ मा मनोनयन दर्ता भएको थियो, जसमा नेविसंघ क्याम्पस इकाइसँग सहकार्य नगरिकन नेविसंघ जिल्लाले एक्कासि मनोनयन बुझायो। जसबाट इकाइ अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्य असन्तुष्ट बनेका छन्।

इकाइका कुल २१ मध्ये ३ उपसभापति, १ सचिव, १ सहसचिव र १ कोषाध्यक्षसहित १७ जनाले सोही दिन राजीनामा बुझाएका थिए। दुई दिनपछि मनोनयनको अन्तिम नामावली आयो।

नेविसंघकै ४ प्रत्यक्ष र १२ समानुपातिक उम्मेदवारले उम्मेदवारी झिक्ने प्रयास गरे। निर्वाचन समितिले एकलौटी नामावली प्रकाशन गरेको भन्दै उनीहरू आक्रोशित बने।

आफ्नो उपस्थितिबिनै समानुपातिक सूचीमा नाम समावेश गरिएको इकाइ उपसभापति विवेक घिमिरे बताउँछन्। आफू यस्तो असहज परिस्थितिमा कुनै पनि हालतमा चुनाव नलड्ने र विद्यार्थीले राखेका माग सम्बोधन हुनुपर्ने जिकिर गर्छन्।
स्ववियु निर्वाचन कार्यालयमा सोमबारदेखि नेविसंघको असन्तुष्ट पक्षले तालाबन्दी गरिएकोमा मंगलबारदेखि क्याम्पस प्रशासनमै तालाबन्दी गरिएबाट कामकाज ठप्प छ।

निर्वाचन अधिकृत राजेश भट्टराईले असहज परिस्थितिमा काम गर्न नसक्ने भनी मंगलबार क्याम्पस प्रमुखलाई राजीनामा बुझाइसकेका छन्। उनले अब जिम्मेवारीबाट पन्छिएकाले अन्य आधिकारिक विषय क्याम्पस प्रशासनसँग बुझ्न आग्रह गरे।

क्याम्पस प्रमुख निर्मल बरालले पार्टीको हस्तक्षेपले स्ववियु चुनावमा स्थिति असामान्य बन्दै गएकोमा दुःख व्यक्त गर्छन्। उनी भन्छन्, ‘शैक्षिक संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ भनी विगतमा नारा दिने तर अहिले हस्तक्षेपकारी नीतिले चुनावी कार्यक्रम बिथोल्न खोजिएको छ।’ निकासका लागि आफूहरू सबै विद्यार्थी संगठनसँग छलफल गर्न तयार रहेको उनले बताए।

इन्जिनियरिङ कलेजमा अघिल्लोपटक अनेरास्ववियुले स्ववियु चुनाव जितेको थियो। त्यसबेला अनेरास्ववियुले १ सदस्यसहित नेतृत्व लिँदा नेविसंघले सचिव, कोषाध्यक्ष र ३ सदस्य तथा अखिल क्रान्तिकारीले १ सदस्य जितेका थिए। यस वर्ष क्याम्पसमा करिब १ हजार ७५० मतदाता छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =