हालान्डको कीर्तिमानै कीर्तिमान

हिमाल प्रेस १ चैत २०७९ १०:३७
6
SHARES
हालान्डको कीर्तिमानै कीर्तिमान

काठमाडौँ-  च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलमा बुधबार राति म्यानचेस्टर सिटीले आरबी लाइपजिगमाथि ७–० को जित दर्ता गर्दा एर्लिङ हालान्डले बग्रेल्ती कीर्तिमान राखे। २२ वर्षीय स्ट्राइकर हालान्डले इतिहाद रंगशालामा ३५ मिनेटभित्र पाँच गोल गरेका हुन्।

हालान्डको यो प्रदर्शनले सिटीलाई क्वार्टरफाइनल पुर्‍याएको छ। सिटी गत फेब्रुअरीमा भएको पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको थियो।

पहिलो गोल २२ औँ मिनेटमा गरेका हालान्डले २४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए। पहिलो हाफको आतिरिक्त समयमा सिटीको अग्रता तेब्बर बनाएका उनले ५३ औँ र ५७ औँ मिनेटमा दुई गोल थपे। सिटीका बाँकी दुई गोलकर्ता एल्काई गुन्डोवान र केभिन डे ब्रुएना रहे।

नर्वेका हालान्ड अब सिटीका लागि एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनको नाममा ३९ गोल छ। सिटीमा यो कीर्तिमान टोमी जोन्सनले १९२८/२९ सिजनमा ३८ गोल गरेर राखेका थिए।

हालान्ड च्याम्पियन्स लिगको एक खेलमा पाँच गोल गर्ने तेस्रो खेलाडी पनि बने। यसअघि यो सफलता लियोनल मेस्सी  र लुइज एड्रियानोले प्राप्त गरेका थिए। मेस्सीले सन् २०१२ मा बायर्न लेभरकुजन र एड्रियानोले सन् २०१५ मा बेट बोरिसोभविरुद्ध पाँच–पाँच गोल गरेका थिए।

मेस्सीले बार्सिलोनाका लागि अन्तिम १६ र एड्रियानोले इन्टर मिलानको जर्सीमा समूह चरणमा त्यत्तिका गोल गरेका हुन्।

हालान्डले राखेको अर्को कीर्तिमान हो, च्याम्पिन्यन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी।

हालान्ड लाइपजिगविरुद्ध गोल थप्ने मनस्थितिमा थिए। तर उनलाई सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले ६३ औँ मिनेटमा मैदानबाट निकाले। सब्स्टिच्युट हुनुपरेपछि हालान्ड रन्थनिँदै बेन्चतिर गएका थिए।

‘ग्वार्डिओलालाई दोहोरो ह्याट्रिक गर्ने इच्छा सुनाएँ। निस्किनुपरेपछि त म के गर्नसक्छु र?’ खेलपछि ठट्टा गर्दै हालान्डले भने।

उनलाई उनको सबैभन्दा बलियो पक्षबारे सोधियो। ‘मेरो बलियो पक्ष? पाँच गोल गरेपछि त अब गोल गर्ने क्षमता नै सबैभन्दा बलियो भन्नुपर्‍यो नि। हुन त म धेरै गोल गर्छु भनेर खेल्दिनँ। तर गोल हुँदै गयो,’ हालान्डले थपे।

हालान्डसँग दोहोरो ह्याट्रिक गर्ने मौका थियो तर उनलाई किन निकालिएको भनेर ग्वार्डिओलालाई सोधियो। ‘२२ वर्षमा त्यस्तो सफलता हासिल गरेपछि उनलाई बाँकी करियर अल्छी लाग्ने खतरा हुन्छ। ६० मिनेट खेल्दा पाँच गोल गर्नु पर्याप्त हो। ९० मिनेट नै खेलाएको भए, उनले के के गर्थे, के थाहा? उनी त्यसै पनि अनुमान गर्नै नसकिने खेलाडी हुन्,’ ग्वार्डिओलाले भने।

यही सिजन बोरुसिया डर्टमन्डबाट सिटी पुगेका हालान्डले आफ्ना लागि नयाँ स्तर सिर्जना गरेकाले प्रत्येक खेलमा दुई वा तीन गोल गरेन भने आलोचना भोग्नुपर्ने बाध्यता रहेको ग्वार्डिओलाको भनाइ थियो। ‘उनी आफैँसँग प्रतिस्पर्धा गर्छन्। उनले पाँच गोल गरे, ३०–३५ पटक बल नियन्त्रणमा राखे। हाम्रा लागि यति पर्याप्त हो। उनले यो लयलाई जारी राखून् भन्ने चाहन्छौँ,’ ग्वार्डिओला प्रसन्न देखिए।

हालान्डले आफू अरू जस्तो धैर्य भएर र गहिरो सोचेर खेल्न नसक्ने भएकाले मैदान बिना योजनाका कुरा गर्ने बानी भएको बताए। ‘मैदानमा म केही सोच्दिनँ। म बस बल प्रहार गर्छु,’ हालान्डले भने।

प्रकाशित: १ चैत २०७९ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =