लघुवित्तको निष्क्रिय कर्जा बढ्यो

हिमाल प्रेस ३० फागुन २०७९ २१:१३
2
SHARE
लघुवित्तको निष्क्रिय कर्जा बढ्यो

काठमाडौँ- पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा बढेको हो।

राष्ट्र बैंकका अनुसार पछिल्लो छ महिनामा करिब ८३ प्रतिशतसम्मले निष्क्रिय कर्जा बढेको छ। ‘पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा पनि उल्लेखनीय वृद्वि भएको छ।’

हाल सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये चार वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन्। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा रकम गत असारको तुलनामा ३.१७ प्रतिशतले बढेर पुस मसान्तसम्म ५९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम पुस मसान्तमा तीन खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा ५२ करोड रुपैयाँ र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा १८ अर्ब ३४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

कुल प्रवाहित कर्जामध्ये थोक कर्जा प्रदायकको निष्क्रिय कर्जा ०.८७ प्रतिशत र खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा ४.६८ प्रतिशत रहेको छ।

गत असार मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाको कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत थियो। अर्थात् पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ।

गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या ५९ लाख ८८ हजार र ऋणी संख्या ३२ लाख ६० हजार रहेको छ। गत असार मसान्तको तुलनामा लघुवित्तका ऋणी १.३० प्रतिशतले घटेको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ।

लघुवित्त तथा वित्तीय संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिको अनुपातमा न्यूनतम प्राथमिक पूँजी चार प्रतिशत र पूँजीकोष आठ प्रतिशत कायम गर्नुपर्ने प्रावधान छ।

गत पुस मसान्तसम्म समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिमभारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १२.२३ प्रतिशत र १३.४५ प्रतिशत रहेको छ।

चालू आर्थिक वर्षको छ महिनामा लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी २.२३ प्रतिशतले र जोखिमभारित सम्पत्ति १.०७ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ। रासस

प्रकाशित: ३० फागुन २०७९ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =