पैदल यात्रा गरी दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा

हिमाल प्रेस ३० फागुन २०७९ १७:५५
260
SHARES
पैदल यात्रा गरी दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा

लुम्बिनी- दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको टोली मंगलबार लुम्बिनी आइपुगेको छ। पैदल यात्रा गरी भारतका बोधगया, कुसीनगर, सारनाथ हुँदै टोली लुम्बिनी आएको हो। ४३ दिनमा ११ सय किलोमिटर यात्रा गरी बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले बुद्धस्थलमा स्वागत गरेको छ।

टोलीमा कोरियाका अग्रज बौद्ध भिक्षु छासुङसहितका १०५ जना धर्मगुरु र अन्य तीर्थयात्री छन्। उनीहरूले मंगलबार मायादेवी मन्दिरको दर्शन गर्दै विश्व शान्तिको कामना गरेका छन्।

कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रूपन्देही निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानलगायतले पैदलयात्रीलाई बुद्धजन्मस्लमा खादा ओढाएर स्वागत गरका हुन्। पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थित थिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्ल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए। उनले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रूपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको बताए।

नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीलाई बुद्धजन्मस्थल मायोदवी प्रांगणमा स्वागत गर्न पाउदा खुसी लागेको बताए। उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए।

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले नेपाल सरकार र नेपाली समुदायका तर्फबाट स्वागत गरे। उनले फागुन गौतमबुद्धको जीवनमा निकै ठूलो महत्त्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुसीको क्षण रहेको बताए।

उनले अग्रज भिक्षु सहितको तीर्थयात्रीको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै बलियो बनेको बनाए। उनले दक्षिण कोरियाबाट उच्च तहका भिक्षुसहितको बौद्ध तीर्थयात्रीहरुको लुम्बिनी भ्रमणले विश्वमा सकरात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन्।

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयअन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली भिक्षुसहित दुई सय बौद्ध तीर्थयात्रीलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो। मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्रांगणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु भिक्षु छासुङले प्रवचन दिएका थिए। उक्त अवसरम लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थितिथियो। फेब्रअरी ९ तारिखदेखि भारतको सारनाथबाट पैदल तीर्थयात्रा सुरु भएको थियो।

लुम्बिनीमा पछिल्लो समय विभिन्न देशबाट बौद्ध धर्मगुरु र तीर्थयात्रीको ठूलो-ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउने क्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई उmर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए। उनले चीनबाट पनि फेरी यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको बताए। कोरियाली बौद्ध धर्माम्बलम्बीको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारतको श्रवस्तीतर्फ पैदल फर्कनेछ।

प्रकाशित: ३० फागुन २०७९ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =