मुख्य प्रशिक्षक एनिसको प्रारम्भिक विश्लेषण : नेपाली खेलाडी शारीरिक रूपमा कमजोर, लिगमा थोरै गोल

हिमाल प्रेस ३० फागुन २०७९ १६:३२
90
SHARES
मुख्य प्रशिक्षक एनिसको प्रारम्भिक विश्लेषण : नेपाली खेलाडी शारीरिक रूपमा कमजोर, लिगमा थोरै गोल

काठमाडौँ-  राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस यहाँको फुटबलमा मज्जाले भिज्न पाएका छैनन्। फागुन १७ मा मुख्य प्रशिक्षकमा नियुक्त भए पनि उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता गरेको केही दिनअघि मात्र हो।

तर उनले नेपाली फुटबलका केही कमजोरी भने पत्ता लगाइसके। ‘यहाँका खेलाडी शारीरिक रूपमा बलियो हुन आवश्यक छ। अनि लिगको क्यालेन्डर पनि व्यवस्थित गर्नुपर्छ,’ मुख्य प्रशिक्षकका हैसियतमा मंगलबार पहिलो पत्रकार सम्मेलनमा उपस्थित एनिसले भने।

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग हेरिरहेकाले उनले यी कमजोरी औँल्याउन सकेका हुन्।

‘नेपाली खेलाडीले आफूलाई शारीरिक रूपमा बलियो बनाउन मेहनत गर्नुपर्छ। रणनीतिक रूपमा उनीहरूलाई बलियो बनाउन, हामी सबै मिलेर काम गर्न सक्छौँ,’ भारतका दुई लिगमा दुई क्लब (नर्थइस्ट युनाइटेड, गोकुलम केरला) सम्हालेर नेपाल आइपुगेका इटालेली एनिसले भने, ‘खेलाडीहरू पर्याप्त आराम बिना मैदान उत्रिरहेका छन्। उनीहरू ‘रिकभर’ हुन सकिरहेका छैनन्। यसरी त खेलाडीहरू घाइते हुने सम्भावना रहन्छ।’

नेपाली खेलाडीलाई ‘ट्याक्टिकल’ पक्षमा बलियो बनाउने विषयमा आफू ए डिभिजन क्लबका प्रशिक्षकहरूसँग छलफल गर्न तयार रहेको एनिसले बताए। ‘म यो विषयमा सबै क्लबका प्रशिक्षकसँग बात मार्न चाहन्छु। उनीहरूलाई सिकाउन खोज्ने उद्देश्य होइन, बस  छलफल गर्ने,’ एनिसले भने।

उनी यत्तिमै रोकिएनन्। लिगमा उनले महसुस गरेको अर्को कमजोरी हो, गोलको कमी। आफू आक्रामक फुटबल मन पराउने प्रशिक्षक भएकाले बढीभन्दा गोलको अपेक्षा रहने एनिसको भनाइ थियो।

‘तर यहाँ लिगमा पर्याप्त गोल भइरहेको छैन। एक गोल गरेपछि वा जित्ने अवस्था आएपछि टिमहरू खेल स्लो डाउन गर्ने वा डिफेन्सिभ खेल्ने गरिरहेका छन्। केही खेलमा मात्र तीन गोल भए, बाँकी त १-०, २-१ मा सकिएका छन्। अबका खेलमा बढी गोल भएको हेर्न चाहन्छु,’ एनिसले भने।

नेपाली लिगमा रेफ्रीले धेरै पटक खेल रोक्ने गरेको एनिसको सुरुवाती अनुभव छ। ‘यहाँ एउटा खेलमा रेफ्रीले ९० मिनेटभरि ७० पटकसम्म खेल रोकेको देखेँ। रेफ्रीले यसरी धेरै पटक खेल रोक्नुपर्ने अवस्था आउनु राम्रो होइन। खेलमा बढीभन्दा बढी समय खेलाडीले पाउनुपर्छ, तब त खेल रोचक हुन्छ,’ एनिसले भने।

दक्षिण भारतीय राज्य केरलाको क्लब गोकुलमलाई दुई पटक आई-लिग जिताएको अनुभव सँगालेका छन्, एनिसले। आई-लिगभन्दा माथिको इन्डियन सुपर लिग (आईएसएल) को नर्थइस्ट युनाइटेडमा केही महिना बिताएपछि एनिस नेपाल आएका हुन्। उनले नेपाली टिमको जिम्मेवारीका लागि प्रतीक्षा गरेको पनि भन्न भ्याए।

‘केही वर्षदेखि नेपाली फुटबल पछ्याइरहेको थिए। यहाँ आउने इच्छा थियो। म आफ्नो प्रशिक्षणमा लामो यात्रा तय गर्न चाहन्छु। यसकारण राष्ट्रिय टिमको प्रशिक्षक बन्नु यो यात्राको महत्त्वपूर्ण हिस्सा हो,’ तीन वर्षअघि मध्यअमेरिकी देश बेलिजको मुख्य प्रशिक्षक रहेका एनिसले भने।

३८ वर्षीय एनिसले आफू नेपाली खेलाडीको प्रतिभासँग जानकार रहेको बताए। आई-लिगमा किरण कुमार लिम्बु र इन्डोनेसियाली लिगमा रोहित चन्दको खेलको हेरेको दृष्टान्त पेस गर्दै एनिसले भने, ‘नेपालबाहिर मैले केही खेलाडीको खेल हेर्न पाएँ। अहिले घरेलु लिगमा पनि हेरिरहेकै छु। नेपाली खेलाडीको अध्ययन गरिरहेको छु। मलाई लाग्छ उनीहरू प्रतिभावान् छन्।’

एनिसका लागि पहिलो परीक्षा ‘प्रधानमन्त्री त्रिदेशीय कप’ हुनेछ। दशरथ रंगशालामा चैत ८ बाट १७ गतेसम्म हुने यो प्रतियोगितामा नेपालले भुटान र लाओससँग प्रतिस्पर्धा गर्नेछ। यही प्रतियोगिताका लागि टिम निर्माण गर्नु उनले सामना गर्ने अर्को ‘रुटिन’ चुनौती हो। पछिल्लो एक वा दुई वर्षमा दर्जनौँ खेलाडी बिदेसिएका एनिसले निर्माण गर्ने टिम नयाँ स्वरूपको हुनसक्छ।

टिम निर्माणको चुनौतीबारे एनिस स्वाभाविक रूपमा सचेत छन्। नेपाली खेलाडीको पलायनबारे थाहा पाएका एनिसले टिम बनाउँदा अनुभवी र युवा खेलाडीलाई सराबरी मौका दिने बताए। ‘एकैपटक पूर्णरूपमा नयाँ टिम बनाउन सकिँदैन। टिममा नयाँ अनुहार मात्र राख्नु संकट निम्त्याउनु हो। यसकारण अनुभवी खेलाडीलाई पनि समेट्नुपर्छ। ताकि नयाँ खेलाडीहरूले उनीहरूबाट सिकून्,’ एनिसले भने, ‘टिम परिवर्तनको प्रक्रिया हुन्छ। सबै कुरा एकैपटकमा परिवर्तन हुँदैनन्, सकिँदैन। म के चाहिँ भन्न सक्छु भने टिममा उपयुक्त हुने खेलाडीले अवसर पाउनेछन्।’

बिदेसिएका खेलाडीसँग सम्पर्क गर्ने र सूचना बटुल्न प्रयास गर्ने एनिसको योजना छ। बिदेसिएका खेलाडीलाई टिममा बोलाउने सम्भावनाबारे उनी प्रस्ट छन्, ‘नेपाली टिममा पर्न, व्यावसायिक फुटबल खेलिरहेको हुनुपर्छ। नखेली बसेकालाई टिममा बोलाउन सकिँदैन। फेरि म आफूले खेलेको देखेको खेलाडीलाई मात्र विश्वास गर्नसक्छु। म अरूको आँखाले होइन, आफ्ना आँखाले देखेका खेलाडीप्रति मात्र ढुक्क हुनसक्छु।’

एनिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरे पनि एन्फाले सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकबारे केही भनेको छैन। एनिसले त्रिदेशीय कपका लागि नेपाली प्रशिक्षकहरूबाटै सहयोग लिने बताए। तर भविष्यमा विदेशीलाई पनि सहायक प्रशिक्षक बनाउन सकिने संकेत उनले गरे।

आफ्नो प्रशिक्षण करियरमा एनिस नौ देश पुगिसकेका छन्। भारतबाहेक सबै ठाउँमा उनी एक वर्ष मात्र अडिएका छन्। नेपालमा उनले एन्फासँग एक वर्षका लागि सम्झौता गरेका हुन्। विगतका प्रशिक्षकका लागि साफ च्याम्पियनसिप उपाधि मुख्य लक्ष्य हुने गरेको थिए। एनिसले भने यो सपना बाँडेका छैनन्।

‘बढीभन्दा बढी खेल जित्नु नै मेरो लक्ष्य हो। यसो गर्नसके मेरो प्रशिक्षण करियर पनि माथि जान्छ। नेपालले पनि विगतमा हासिल गर्न नसकेको उपलब्धि हासिल गर्नसक्छ,’ एनिसले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =