तनहुँ १ मा कहिले हुन्छ उप-निर्वाचन?

हिमाल प्रेस ३० फागुन २०७९ ७:४४
8
SHARES
तनहुँ १ मा कहिले हुन्छ उप-निर्वाचन? फाइल तस्बिर

काठमाडौँ- सोमबारबाट तनहुँ १ को प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेलले राजीनामा दिएसँगै सोही क्षेत्रमा पुन: निर्वाचन गर्नुपर्ने भएको हो। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पदबाट पनि अलग भएका हुन्। सोमबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै प्रतिनिधिसभा सदस्य पदबाट अलग भएको जनाएका थिए।

अब सोही क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने छ। अब तनहुँ १ ले कहिले उपनिर्वाचन हुन्छ चासोको विषय बनेको छ। कानुनत: रिक्त क्षेत्रमा छ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ। यता निर्वाचन आयोगले भने उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ।

उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन-२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो।

उपराष्ट्रपतिको निर्वाचनमा चार जना उम्मेदवार रहेकोमा एकरएक जना राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य छन्। दुई जना उम्मेदवार संसद्को निर्वाचित पदमा छैनन्। आयोगले उपराष्ट्रपतिको निर्वाचनबाट प्रतिनिधिसभा क्षेत्र रिक्त हुने अवस्था आए आगामी २०८० साल वैशाख १० गते नै चितवन, तनहुँ र सो क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ। सो व्यवस्थाबमोजिम आयोगले माघ २९ गते चितवन-२ मा उपनिर्वाचन हुने घोषणा गरेको थियो।

प्रकाशित: ३० फागुन २०७९ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =