अलैँचीभन्दा चिराइतो महँगो

हिमाल प्रेस २९ फागुन २०७९ २१:३९
2
SHARE
अलैँचीभन्दा चिराइतो महँगो

ताप्लेजुङ– चिराइतोको मूल्य गतवर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँले वृद्धि भएको छ। गतवर्ष प्रतिमन (४० किलो) ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार रुपैयाँ पुगेको छ।

पूर्वीपहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतो महंगो छ। अलैँची प्रतिमन ३५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ। भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ४० हजार रुपैयाँसम्ममा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन्। ‘चिराइतो गतवर्ष ३० हजार रुपैयाा प्रतिमन कारोबार भएको थियो। आजभोलि बढेर ४० हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ,’ फुङलिङका व्यवसायी गोविन्द बरालले भने।

गतवर्ष १८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजार रुपैयाँसम्म पुगेको हो। व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ। झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन्।

केही वर्षअघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी भइरहेको छ।

मूल्यवृद्धि भएसँगै चिराइतो संकलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन्। लामो समयपछि चिराइतोको मूल्य एक्कासी बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित छन्।

प्रतिमन ३२ देखि ३३ हजार रुपैयाँका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी लागेको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए। व्यावासायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेको बताए।

उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनको भनाइ छ। आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतो खेती गर्दै आएका छन्। यसअघिका वर्षहरूमा मूल्य नपाउँदा केहीले यसलाई निरन्तरता दिन सकेका छैनन।

चिराइतोको मूल्य बढे पनि उत्पादन घटेको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो संकलन भएको व्यवसायीले बताएका छन्। गत वर्ष एक सय ५० मन चिराइतो संकलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन संकलन गरिएको बताए।

सिरिजंघा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीेले गतवर्षको तुलनामा करिब आधा मात्र चिराइतो संकलन गर्न सकेको बताए। उनका अनुसार प्रायले चिराइतो खेती छाडेका छन्। तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएका छन्।

ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो संकलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो मुख्य जडीबुटी हो।

औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ। रासस

प्रकाशित: २९ फागुन २०७९ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =