खेलाडी पलायन हुँदा लिगको स्तर घट्यो : मेघराज केसी

हिमाल प्रेस २९ फागुन २०७९ २१:३४
52
SHARES
खेलाडी पलायन हुँदा लिगको स्तर घट्यो : मेघराज केसी सोमबार साँझ सातदोबाटो युथ क्लबविरुद्धको खेलमा थीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी।

काठमाडौँ- थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले सहिद स्मारक ‘ए’ डिभिजन लिगको स्तर घटेको अभिव्यक्ति दिएका छन्। खेलाडी पलायनका कारण गत सिजनको दाँजोमा यो सिजन लिगको स्तरमा ह्रास आएको उनको भनाइ थियो।

‘घरेलु फुटबलमा उच्चस्तरका मानिने ४०–५० खेलाडी विदेशिएका छन्। उनीहरूको अभावमा लिगको स्तर घटेको छ। गत सिजन लिग खेलेका ८–१० खेलाडी यसपालि नहुँदा खासै फरक पर्दैन थियो। तर त्यत्तिको ठूलो संख्यामा खेलाडी बाहिरिएपछि लिगको स्तरमा फरक पर्नु स्वाभाविक हो,’ सोमबार साँझ थ्रीस्टारले सातदोबाटो युथ क्लबमाथि १–० को साँघुरो जित दर्ता गरेपछि ‘पोस्टम्याच कन्फ्रेन्स’ मा उपस्थित मेघराजले भने।

पछिल्लो एक वर्षमा दर्जनौँ खेलाडीले नेपाल छाडेका छन्। विदेशिने खेलाडीको आधिकारीक तथ्यांक छैन। तर राष्ट्रिय टिमबाटै खेलिसकेका झन्डै डेढ दर्जन खेलाडीले नेपाल छाडेका छन्। कतिसम्म भने नयाँ सिजनको पहिलो खेल खेलेर संकटा क्लबका कप्तान सुनिल बल नै अस्ट्रेलिया हानिए। जहाँ राष्ट्रिय टिमबाट खेलेका कयौँ खेलाडी पहिल्यै पुगिसकेका छन्।

यसरी विदेशिएका खेलाडीको अभाव नयाँ खेलाडीले पूर्ति गर्नसक्ने भए पनि उनीहरूलाई परिपक्व बनाउन समय लाग्ने मेघराजको भनाइ थियो। ‘तर यी नयाँ खेलाडी पनि कति समय नेपालमा रहन्छन्, टुंगो छैन। यो अहिलेको मुख्य भय हो,’ मेघराजले भने। अनुभवी र स्तरीय खेलाडी ठूलो संख्यामा एक्कासी बाहिरएपछि लिग संक्रमणकालीन अवस्थामा रहेको उनकाे धारणा छ।

थ्रीस्टारको दोस्रो जित

गत सिजन छैटौँ स्थानमा सीमित थ्रीस्टारले यसपालिको लिग हारबाट सुरुवात गरेको थियो। नेपाल एपीएफ क्लबसँग २–० को पराजय भोगेको थ्रीस्टार दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग ३–३ को बराबरीमा रोकिएको थियो।

तेस्रो खेलबाट भने थ्रीस्टार जित लयमा फर्किएको हो। शुक्रबार नवप्रवेशी खुमलटार युवा क्लबमाथि २–० को जित दर्ता गरेको थ्रीस्टारलाई सोमबार दशरथ रंगशालामा आदित्य शाक्यको गोलले तीन अंक दिलायो।

ओसिलो मैदानमा ललितपुरका दुई टिम बराबरीतर्फ अघि बढ्दै गर्दा आदित्यले ८९ औँ मिनेटमा गोल गरे। अनिल महर्जनको कर्नरबाट आएको बललाई आदित्यले जाली चुमाएका थिए।

‘लिग सुरु हुनै लाग्दा टिम निर्माण गर्नुपर्‍यो। धेरै समय पाइएन। त्यसकारण सुरुवाती दुई खेलमा टिम सेट भइसकेको थिएन। अब भने विस्तारै आश पलाउँदै गएको छ,’ आफ्नो पूर्वक्ललाई हराएपछि मेघराजले भने।

गत सिजन मेघराजले सातदोबाटोलाई लिगमा चौथो बनाएका थिए। ए डिभिजनमा उक्लिएको सिजन नै सातादोबाटोलाई शीर्ष चारमा पु¥याएका मेघराज यो सिजन भने थ्रीस्टार फर्किएका हुन्। जहाँ उनी लामो समय मुख्य प्रशिक्षक थिए।

नयाँ मुख्य प्रशिक्षक सनोज श्रेष्ठको प्रशिक्षणमा खेलिरहेको सातदोबाटो चौथो खेलमा पुगेर पराजित भएको हो। न्युरोड टिम (एनआरटी) लाई २–१ ले हराएर लिगको सुरुवात गरेको सातदोबाटोले त्यसपछिका खेलमा एपीएफ क्लब र फ्रेन्ड्समाथि समान १–० अन्तरको विजय हासिल गरेको थियो।

‘यो खेलका लागि मात्र एक दिन आराम गर्न पाइयो। यसकारण खेलाडी थकित थिए। त्यसमाथि मैदान ओसिलो थियो। त्यसले पनि प्रभाव पार्‍यो। दोस्रो हाफमा गोलका अवसर सिर्जना गर्न सकिएन। पाएका थोरै मौका पनि गोलमा परिणत हुन सकेनन्। विदेशी खेलाडीबाट सोचे जस्तो प्रदर्शन हुन सकेन,’ हारको कारण केलाउँदै सनोजले भने।

यो हारका बाबजुद सातदोबाटो दोस्रो स्थानमा यथावत् छ। थ्रीस्टार भने सात अंकसहित चौथो स्थानमा उक्लियो। अब थ्रीस्टार र पाँचौँ स्थानको खुमलटारको अंक बराबर भएको छ।

हिमालयन शेर्पाविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै खुमलटार युवा क्लबका खेलाडीहरू।

उता शीर्ष दुईमा रहेका सातदोबाटो र शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडको समान नौ–नौ अंक छ। गोल अन्तरमा सातदोबाटोभन्दा माथि रहेको चर्च ब्वाइजले सातदोबाटोभन्दा एक खेल कम खेलेको छ। चर्चब्वाइजले आफ्नो चौथो खेलमा मंगलबार संकटाको सामना गर्दैछ।

सोमबार नै भएको अर्को खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ हरायो। विश्वास श्रेष्ठले ८० औँ मिनेटमा गोल गरे पनि त्यो हिमालयन शेर्पालाई खेलमा फर्काउन पर्याप्त भएन। खुमलटारको दुई हारको शृंखला टुंग्याउन मनिष थापाले पहिलो हाफको २२ र स्टेफान समिर बिनोङले ६५ औँ मिनेटमा एक–एक गोल गरेका थिए।

पहिलो खेलमा फ्रेन्ड्सलाई १–० ले स्तब्ध बनाउँदै लिगमा सम्झनलायकको डेब्यु गरेको खुमलटार त्यसपछिका दुई खेलमा चर्च ब्वाइज र थ्रीस्टारसँग पराजित भएको थियो।सुमन श्रेष्ठको नेतृत्वमा रहेको हिमालयन शेर्पाका लागि यो लगातार दोस्रो हार हो। पछिल्लो खेलमा हिमालयन शेर्पा चर्च ब्वाइजसँग १–० हार व्यहोर्न बाध्य भएको थियो।

चारमध्ये एक खेलमा मात्र विजय हासिल गरेको हिमालयन शेर्पा चार अंकसहित १० औँ स्थानमा छ। आठौँ र नवौँ स्थानका संकटा तथा एपीएफको पनि चार–चार अंक नै छ। तर ती दुई टिमले हिमालयन शेर्पाको भन्दा एक–एक खेल कम खेलेका छन्।

मंगलबार हुने खेल :
संकटा क्लबविरुद्ध चर्च ब्वाइज युनाइटेड, २ः३० बजे, एन्फा कम्प्लेक्स
जावलाखेल युथ क्लबविरुद्ध फ्रेन्ड्स क्लब, २ः३० बजे, दशरथ रंगशाला
मछिन्द्र क्लबविरुद्ध नेपाल पुलिस क्लब, ५ः३० बजे, दशरथ रंगशाला

प्रकाशित: २९ फागुन २०७९ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =