जब डाक्टरको टोली बिरामी खोज्दै गाउँ पुग्यो…

विवेक विवश रेग्मी २९ फागुन २०७९ ७:५१
76
SHARES
जब डाक्टरको टोली बिरामी खोज्दै गाउँ पुग्यो…

इटहरी– गाउँ। पहाडको गाउँ होइन मधेशको। जहाँ साइकल, रिक्सा र मोटरसाइकलहरू आवतजावत गरिरहेछन्। मानिसहरू आ–आफ्नै सुरमा छन्। कोही मजदुरी गर्न गएका छन्, कोही घरभान्सामा व्यस्त छन्।

यसैबीच एक समूह गाउँ प्रवेश गर्छ। गाउँलेहरू केको समूह भन्ने थाहा नपाएरै कानेखुसी गर्छन्। केहीबेरमै गाउँलेको स्वास्थ्य जाँच सुरु हुन्छ। र, गाउँलेले थाहा पाउँछन् डाक्टरको टोली।

अहिले जिल्ला अस्पताल इनरुवाले ग्रामीण भेगमा रहेका गरिब, विपन्न, दलित तथा मधेश समुदायलाई लक्षित गर्दै हरेक शनिबार निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ। पछिल्लोपटक दुईदिन अघि (शनिबार) गरिएको शिविरमा दुई सय बढीले सेवा लिएका छन्।

‘हामीले पिछडिएका जनता भएका ठाउँमा औषधि पनि वितरण गरेका छौँ, आर्थिक अवस्था कमजोर हुनेलाई लक्षित गर्दै यस किसिमको निःशुल्क सेवा सुरु गरेका हौँ,’ इनरुवा अस्पतालका मेसु डा. देवराज घिमिरेले भने, ‘दीर्घरोगीको पहिचान गरेर उनीहरूलाई अस्पतालको पहुँचमा पुर्‍याउने हाम्रो उद्देश्य हो।’

उनका अनुसार अहिले सुनसरीको भोक्राहा, बलाहा, मधेशा, डुम्राहा, दुहबीलगायतका ठाउँमा डाक्टरको टोली पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ। इनरुवा ८ बाट सुरु भएको यो अभियानलाई स्थानीयको सकारात्मक प्रतिक्रियाका कारण आफूहरू निःशुल्क स्वास्थ्य जाँच गर्न उत्साहित भएको घिमिरे बताउँछन्।

‘गाउँमै डाक्टर आएको भन्दै उनीहरू खुसी छन्, यसले हामीलाई हौसला मिलेको छ,’ घिमिरेले भने, ‘हामीले यसअघि पनि यस किसिमको शिविर सञ्चालन गरेका थियौँ, यो सातौँ पटकको शिविर हो।’

उनका अनुसार अहिले वडागत रूपमै अस्पतालले स्वास्थ्य जाँच गर्दै आएको छ। सुगर, प्रेसर र दीर्घरोगीको पहिचान गरी उनीहरूलाई सहज वातावरणमा अस्पतालसम्म पुर्‍याउने लक्ष्य राखिएको उनी बताउँछन्।

‘जो गरिबीको रेखामुनि हुनुहुन्छ, उहाँहरूलाई हामीले जनचेतना पनि फैलाउँदै आएका छौँ,’ डा. घिमिरे भन्छन्, ‘हामीले मदिरा पिउन नहुने तथा स्वास्थ्यलाई हानि हुने खाद्यपदार्थ खान नदिनका लागि पनि जनचेतना प्रवाह गर्दै आएका छौँ।’ कसैले पनि रोग पालेर बस्न नहुने उनको भनाइ छ।

‘कतिपयलाई इनरुवा अस्पतालमा सबैखालको उपचार हुन्छ भनेर थाहै छैन,’ उनले भने, ‘अहिले सेवा विस्तार भएको छ। अप्रेसन पनि हुन्छ तर धेरैलाई थाहा छैन।’ बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने उनले बताए।

उक्त अभियानको नेतृत्व गरिरहेका डा. घिमिरेलाई डा. वीरेन्द्र मण्डल, डा. शशि साह, रामकुमार रौनियार, अजयकुमार मेहता, राधिका ठाकुर, भागवत मेहतालगायतले साथ दिएका छन्।

यसरी सेवा पाउँदा स्थानीय मानिस लाभान्वित त भएका छन्। त्यो सँगै आफूसँग भएको रोगको निराकारणको उपाय पनि पाएका छन्। रोग पालेर बस्न नहुने चेतना लिएका स्थानीयले अहिले डाक्टरको टोलीले गरेको उक्त कार्यको प्रशंसा गरेका छन्। एक स्थानीयले भने, ‘यसरी गाउँमै स्वास्थ्य सेवा पाउँदा हामीलाई धेरै सजिलो भएको छ।’ दीर्घरोगी र अशक्त झनै खुसी देखिन्छन्।

इनरुवा अस्पताल १९९१ सालमा तत्कालीन अवस्थामा झोडा फडानी गरी स्वास्थ्य उपचार केन्द्रका रूपमा तयार भएको हो। १९९६ मा भने झोडाफडानी अस्पतालका नाममा सेवा सुरु गरिएको थियो।

अस्पतालले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय साथै प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशमार्पmत कार्यान्वयनमा ल्याइएका ऐन, नियम, निर्देशिकासहित अन्य मार्गदर्शनसमेतको प्रावधानबमोजिम स्वास्थ्यसम्बन्धी चिकित्सकीय, प्रवर्धनात्मक गतिविधि सञ्चालन गरिरहेको छ।

प्रकाशित: २९ फागुन २०७९ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =