भारतीय तरकारीका कारण नेपाली उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित

हिमाल प्रेस २८ फागुन २०७९ २१:३४
4
SHARES
भारतीय तरकारीका कारण नेपाली उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित फाइल तस्बिर

सुर्खेत- वीरेन्द्रनगर– १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका छन्। यहाँको बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरूले उचित मूल्य नपाएको किसानको गुनासो छ।

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको गुनासो किसानले गरेका छन्। सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाख रुपैयाँभन्दा बढीको भारतीय तरकारी भित्रिने गरेको छ। तर स्वदेशको उत्पादनले भने मूल्य पाउन सकेको छैन।

वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार भएको थियो।
यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए।

उनले तरकारी उत्पादनको लागत उठ्न नसक्ने चिन्ता रहेको बताए। ‘हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो,’ उनले भने, ‘गतवर्ष तरकारीको मूल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो वर्ष भने सस्तो दरमा बिक्री गर्न बाध्य हुँदा लगानी नउठ्ला जस्तो छ।’

कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको बताएका छन्। विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ केजीका दरले बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरले बताए। ‘हाम्रो तरकारी अहिले सस्तो मा बिक्री गरिरहेका छौँ,’ उनलेभने।

उनले आफूहरूको आम्दानीको प्रमुख स्रोत कृषि भए पनि मूल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे। यो गाउँका कृषक १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। भारतीय तरकारीले सहजै मूल्य पाउने तर स्वदेशी कृषकको तरकारीले मूल्य बारीमै खेर जाने अवस्था भएकाले खेती छोड्नुपर्ने अवस्थामा पुगेको कृषकहरूको भनाइ छ।

दुई सय घरधुरी रहेको इन्द्रपुर गाउँका ५० कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। करिब ५० बिघा खेतीयोग्य जमिनमध्ये १७ बिघा जमिनमा कृषकले छुट्टाछुट्टै तरकारी खेती गरिरहेका छन्। प्रदेश सरकारले पनि व्यावसायिक खेती गर्ने किसानको लागि सिँचाइ कुलो निर्माणदेखि विभिन्न अनुदान दिने गरेको छ।

प्रदेशको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कृषकको तरकारीले उचित मूल्य नपाएको स्वीकार गरे। ‘उहाँहरूको तरकारीले उचित मूल्य नपाएको सत्य हो,’ उनले भने। रासस

प्रकाशित: २८ फागुन २०७९ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =