संघीय शिक्षा ऐन ल्याउन लुम्बिनीबाट आग्रह

हिमाल प्रेस २८ फागुन २०७९ १९:३८
78
SHARES
संघीय शिक्षा ऐन ल्याउन लुम्बिनीबाट आग्रह

लुम्बिनी- शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले संघीय शिक्षा विधेयक तत्काल संसद्‌मा पेस गर्न आग्रह गरेका छन्। रुपन्देहीस्थित बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार आयोजित कार्यक्रममा सहभागी शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ-संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई संघीय शिक्षा विधेयक तत्काल ल्याउन आग्रह गरेका हुन्।

विधेयक सार्वजनिक गरेर सरोकारवालाबीच छलफल गरेर संघीयताको मर्मअनुरूप शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्न उनीहरूले अनुरोध गरे।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीतिभन्दा टाढा बस्नुपर्ने बताए। शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पनि पहल गर्ने उनले बताए।

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्म विपरीत केन्द्रीकृत मानसिकता रहेको बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनलगायतको उपस्थिति थियो।

गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादव, शिक्षक महासंघ प्रदेश सहअध्यक्ष छविलाल पाण्डे, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रीय अध्यक्ष कृष्ण थापा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिव टेकराज अवस्थी, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीलगायतले शिक्षा ऐन ल्याउन अपिल जारी गरेका छन्।

त्यस्तै शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, शिक्षा नीति तथा अभ्यास केन्द्रका अभियान्ता टीका भट्टराई, मदरसा शिक्षा सुधार समाजका अध्यक्ष अब्दुल रउफलगायतले पनि अपिलमा हस्ताक्षर गरेका छन्।

अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रीद्वारा जारी अपिलमा शिक्षा ऐन ल्याउन तदारुकता देखाउनुपर्ने उल्लेख छ। शिक्षा ऐन नआउँदा नेतृत्वको अपरिपक्वता देखिनुका साथै संघीयताविरुद्ध वितृष्णा फैलाउने स्वार्थ समूहलाई नै सहयोग पुगिरहेको अपिलमा उल्लेख छ।

प्रकाशित: २८ फागुन २०७९ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =