स्ववियु निर्वाचनमा नेविसंघलाई बागी उम्मेदवारको डर

हिमाल प्रेस २८ फागुन २०७९ १६:१३
12
SHARES
स्ववियु निर्वाचनमा नेविसंघलाई बागी उम्मेदवारको डर

काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा तीन विद्यार्थीसँगठनले तालमेल गरेका अधिकांश क्याम्पसमा बागी उम्मेदवारी परेको छ। उपत्यकाभित्रकै अधिकांश ठूला क्याम्पसमा नेपाली कांग्रेसनिकट विद्यार्थीसंगठन (नेविसंघ) आबद्ध विद्यार्थीले बागी उम्मेदवारी दिएका हुन्।

नेविसंघ सम्बद्ध इतर पक्षका विद्यार्थीले सभापति दुजाङ शेर्पाले एकपक्षीय निर्णय गर्दै टिकट दिएको आरोप लगाउँदै उम्मेदवारी दिएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघ सभापतिका आकांक्षी विष्णु बडैलाले नेपाल स्वतन्त्र विद्यार्थी समाजको तर्फबाट प्यनल नै बनाएर उम्मेदवारी दिएका छन्।

सचिवमा अंग्रेजी विषयका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले उम्मेदवारी दिएका छन्। सदस्यमा जीवनराज ढुंगाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार बनेका छन्। त्रिविमा संस्थापन पक्षबाट श्यामराज जोशी उम्मेदवार छन्।

काठमाडौँ बागबजारस्थित शंकरदेव क्याम्पसमा सुशील धामीले नेविसंघका बागी उम्मेदवारी दिएका छन्। नेविसंघको तर्फबाट सभापतिमा सुशान्त बस्नेत उम्मेदवार छन्।

यस्तै जनप्रशासन क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको विरुद्धमा शिशिर पाण्डेले बागी उम्मेदवारी दिएपछि नेविसंघ संस्थापन पक्षका विद्यार्थीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन्। यस्तै नेपाल ल क्याम्पसमा पनि नेविसंघकै माजिद परवेजले बागी उम्मेदवारी दिएका छन्।

तीन विद्यार्थी संगठनबीच तालमेल हुदा अखिल क्रान्तिकारीको भागमा परेको पब्लिक युथ क्याम्पसमा पनि नेविसंघकी शोभा बस्ताकोटाले सभापतिमा उम्मेदवारी दिएकी छन्।

२७ वटा क्याम्पसमा तालमेल गरेको नेविसंघले अखिल क्रान्तिकारीको भागमा परेको अघिकाशं कलेजमा उम्मेदवारी दिएको छ।

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको थियो।

नेविसंघले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापतिमा उम्मेदवारी दिएको थियो।

यस्तै अखिल क्रान्तिकारीले थापाथली इञ्जीनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इञ्जीनियरिङ र हिमालयन इञ्जीनियरिङ क्याम्सको सभापति पाउने सहमति भएको थियो।

अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस र वानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको थियो। तर सहमति विपरित बागी रुपमा उम्मेदवारी परेका हुन्।

सहमतिअनुसार तीनवटै विद्यार्थी संगठनले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन जारी गरेका छन्। आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ।

प्रकाशित: २८ फागुन २०७९ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =