पेनाल्टीमा सिटी सफल, लिभरपुल असफल

हिमाल प्रेस २८ फागुन २०७९ ११:३०
12
SHARES
पेनाल्टीमा सिटी सफल, लिभरपुल असफल

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार पेनाल्टीमा सफल हुँदा म्यानचेस्टर सिटी विजयी भयो भने असफल हुँदा लिभरपुलले पराजय भोग्यो। सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हराउँदा एर्लिङ हालान्डले पेनाल्टी गोल गरे।

त्यसअघि लिभरपुलका मोहम्मद सलाहले पेनाल्टी खेर फाल्दा लिभरपुलले बर्नमाउथसँग कम्तीमा बराबरी गर्ने मौका गुमायो। गत साता म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गरेको लिभरपुल बर्नमाउथसँग १–० ले स्तब्ध बन्यो। शनिबार नै टोटनहमले नटिङहम फरेस्टलाई र चेल्सीले लेस्टर सिटीलाई समान ३–१ अन्तरले पन्छाए।

लिगमा १९ औँ जित हासिल गरेपछि सिटीले शीर्षस्थानको आर्सनलसँगको दूरी दुई अंकमा छोट्याएको छ। आइतबार फुलहमलाई हराए आर्सनलले फेरि पाँच अंकको अग्रता कायम गर्नसक्छ।

उता टोटनहम भने २७ खेलबाट ४८ अंकका साथ चौथो स्थानमा छ। लिभरपुलल २६ खेलबाट ४२ अंक जम्मा गरेर पाँचौँ स्थानमा यथावत् रहँदा दुई खेल कम खेलेको न्युकासल युनाइटेड ४१ अंकका साथ छैटौँ स्थानमा छ।

प्यालेसका माइकल ओलिसले एल्काई गुन्डोवानलाई पेनाल्टी बक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। जसलाई हालान्डले सदुपयोग गरे। उनको यो २८ औँ लिग गोल हो। सबैखाले प्रतियोगितामा गरी उनले ३४ गोल गरिसकेका छन्।

‘इंग्ल्यान्डमा म रमाइरहेको छु। प्रत्येक क्षण रमाइलो छ। म यही प्रिमियर लिग हेरेर हुर्किएको हो। यसकारण आज यहाँ खेल्न पाउँदा दंग छु,’ सिटीलाई जित दिलाएपछि हालान्डले भने।

शीर्ष चारमा पर्न संघर्षरत लिरपुलमाथि जित दर्ता गर्न बर्नमाउथका फिलिप बिलिङले गोल गरे। दोस्रो हाफमा लिभरपुलले पाएको अवसरमा सलाह चुके। ‘खेलाडीहरूले आज योजना विपरीतको खेल खेले। हामी आज आफूलाई एकपटक फेरि प्रमाणित गर्न चाहन्थ्यौँ। तर चुक्यौँ। करिब ९५ मिनेट नै हामीले यसरी खेल्यौँ जस्तो बर्नमाउथ चाहन्थ्यो,’ खेलपछि लिभरपुल प्रशिक्षक योर्गन क्पले निराशा पोखे।

एक सातको बीचमा एफए कप र च्याम्पियन्स लिगबाट बाहिरिएपछि टोटनहम निराशामा डुबेको थियो। कतिसम्म भने मुख्य स्ट्राइकर ह्यारी केनकै स्थान्तरणको खबर आउन सुरु गरिसकेका थिए। तर उनै केनले दुई गोल गर्दै टोटनहमलाई राहत दिए। उनीबाहेक ह्युङ सन मिनले एक गोल गरे।

टोटनहमले पछिल्ला तीन खेलमा गोल गर्न सकेको थिएन। अब भने गोलको छोटो खडेरी तोडिएको छ। नटिङहमविरुद्धको दुई गोलले लिगमा केनको गोल संख्या २० पुगेको छ। खेल्ने मौका कम पाइरहेको भन्दै केही दिनअघि गुनासो पोखेका रिचारलिसनले सनका लागि असिस्ट उपलब्ध गराए।

जो वारेलले पराजित टिम फरेस्टका लागि एक गोल फर्काए। आतिरिक्त समयमा फरेस्वटसँग गोल अन्तर घटाउने अवसर थियो। तर फरेस्टका आन्द्रे आयुले प्रहार गरेको पेनाल्टी टोटनहमका गोलरक्षक फ्रेजर फोस्टरले रोकिदिए।

गत साता बोरुसिया डर्टमन्डलाई हराएर च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको चेल्सीले घरेलु लिगमा १० औ जित हात पा¥यो। चेल्सीलाई जिताउन बेन चिल्वेल, काई हाभर्ट्स र माटियो कोभाचिचले एक–एक गोल गरे। लेस्टरबाट पाट्सन डाकाले एक गोल फर्काए। लिगमा चेल्सीको यो लगातार दोस्रो जित हो भने लेस्टरको लगाता चौथो हार।

चेल्सीसँगको हारपछि लेस्टर रेलिगेसन क्षेत्रबाट टाढिन असफल रह्यो। १६ औँ स्थानको लेस्टरको हाल २६ खेलबाट २४ अंक छ। जुन १८ औँ स्थानको वेस्टह्यामको भन्दा एक अंकले बढी हो। १७ औँ स्थानको बर्नमाउथको पनि २४ अंक नै छ। आइतबार एस्टन भिल्लालाई पराजित गरे वेस्टह्याम रेलिगेसन क्षेत्रबाट निस्किने छ।

प्रकाशित: २८ फागुन २०७९ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =