नामकरणको विरोधमा कोशी प्रदेश बन्द, जनजीवन प्रभावित

विवेक विवश रेग्मी २८ फागुन २०७९ ८:५८
14
SHARES
नामकरणको विरोधमा कोशी प्रदेश बन्द, जनजीवन प्रभावित

इटहरी- प्रदेश १ को नामकरण ‘कोशी’ राखिएको भन्दै प्रदेशभर बन्द गरिएको छ। आइतबार (आज) प्रदेशभर किराँत मोर्चाले बन्द गरेको हो।

अहिले कोशी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण जनजीवन प्रभावित बनेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण अहिले कुनै पनि सवारीसाधनहरू सञ्चालन छैनन्। ठूलादेखि साना सवारीसाधनसहित मोटरसाइकलसमेत चल्न नदिँदा समस्या भएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेका अनुसार अहिले इटहरीका विभिन्न ठाउँमा बन्दको प्रभाव छ। इटहरीबाट धरान जाने ६ लेन सडकअन्तर्गत तरहरामा अहिले बन्दकर्ताले आन्दोलन गरिरहेका छन्। ६ लेन सडकमै दुवैतर्फ बन्द गरिँदा लामो बाटो भएर आउने सवारीसाधनहरू गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरूको बिचल्ली भएको छ।

‘बन्दका कारण अहिले गाडीहरू चल्न पाएका छैनन्,’ डीएसपी काफ्लेले भने, ‘हामी नेपाल प्रहरीसहित सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा बाटो खुलाउने प्रयत्न भए पनि बन्दकर्ताले मानिरहेका छैनन्।’

इटहरी २० का राजु श्रेष्ठले तरहरामा बन्दको प्रभाव कहिल्यै नपरेको भए पनि आज भने बन्द हुँदा स्थानीय जनजीवन प्रभावित बनेको बताए। ‘ठूला–ठूला नेपाल बन्दमा कहिल्यै बन्द नभएको तरहरामा आज बन्द हुँदा समस्या भएको छ,’ उनले भने, ‘सरकारले नामकरण राख्दा जनताले सास्ती पाउनुपर्ने अवस्था छ, जातीयताको राजनीति बन्द गरौँ भनेर हामीले आवाज उठाइरहेका छौँ।’

विगतमा पार्टीको राजनीति गर्नेहरू अहिले जातीयताको राजनीति गर्दै बन्द गराउन सक्रिय रहेको उनले बताए। आफूहरूले बन्द अस्वीकार गर्ने स्थानीयवासीको भनाइ छ।

एम्बुलेन्स, दमकललगायतका सवारीसाधन भने चलाउन दिने गरी सहमति गर्ने प्रयास भइरहेको छ।

प्रकाशित: २८ फागुन २०७९ ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =