माओवादी घटकहरूले किन गर्दैछन् आज पत्रकार सम्मेलन?

हिमाल प्रेस २८ फागुन २०७९ ७:५६
18
SHARES
माओवादी घटकहरूले किन गर्दैछन् आज पत्रकार सम्मेलन? बालुवाटारमा माओवादी घटकहरूको संयुक्त बैठक। फाइल तस्बिर

काठमाडौँ- माओवादी घटकहरूले आज (आइतबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। शुक्रबारको संयुक्त बैठकले फागुन २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।

सोहीअनुसार आज दिउँसो २ बजे प्रज्ञा-प्रतिष्ठानको हलमा पत्रकार सम्मेलन हुने भएको हो। माओवादी घटकहरूले जनयुद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेको भन्दै आपत्ति जनाएका छन्। सोही विषयमा आफ्नो धारणा सार्वजनिक गर्न उनीहरूले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न माओवादी घटक दलका नेताहरूको सहभागिता रहने नेकपा (माओवादी केन्द्र)ले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चले १५ दिनभित्र आफैँ वा आफ्ना प्रतिनिधिमार्फत निवेदकले माग गरेबमोजिमको कारबाही किन गर्नु नपर्ने भन्ने जवाफ दिन पनि प्रचण्डलाई आदेश दिएको छ।

निवेदक ज्ञानेन्द्रराज आरणलगायतले द्वन्द्वकालमा भएका हत्याका विषयमा माओवादी अध्यक्ष प्रचण्डलाई जिम्मेवार रहेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने आदेश माग गरिएको थियो।

 

प्रकाशित: २८ फागुन २०७९ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =