उपराष्ट्रपति महिला हुनुपर्ने व्यवस्था गठबन्धनले मिच्दैछ : ओली

हिमाल प्रेस २७ फागुन २०७९ २१:४६
4
SHARES
उपराष्ट्रपति महिला हुनुपर्ने व्यवस्था गठबन्धनले मिच्दैछ : ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा सत्तागठबन्धनले जालझेल गर्न खोजेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उपराष्ट्रपति निर्वाचनमा सत्तागठबन्धनले जालझेल गर्न खोजेको उनको भनाइ छ। राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको भन्दै उनले आपत्ति जनाए।

‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख/उपप्रमुख यो गरेका छौँ।सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने। राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने। अब राष्ट्रपतिमा समस्या आइराखेको छ। राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ। स्थानीय तह निर्वाचनमा पनि उनीहरूले कानुन छले। त्यो कानुन छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरू वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो,’ उनले भने।

एमालेबाट राष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर गठबन्धन बनाएको उनले आरोप लगाए।

‘उनीहरू किन एकजुट हुन्छन् भन्दा तिनीहरू एकैतिर बसेर पनि एकैतिर फर्केर पनि बसेका छैनन्। चारैतिर, दशतिर फर्केर बसेका छन्। यताबाट एमालेले हान्छ कि, यता बाट हान्छ कि ? त्रास छ क्या तिनीहरूलाई। कताबाट भ्याउँछ। हामीले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छौँ। एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीकोले पुगेन, आज फेरि अर्को थपियो। १० पार्टी बनाए, अष्टलक्ष्मी आउनुभयो, मार्‍यो। गाह्रो छ। आउ भाइ हो सबै मिलेर लडौँ भनेर। त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरु एकातिर भएरै लडाइँ हुने हो। किनभने एक्लै लड्ने कुनै आँट गर्दैनन्,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =