‘आर्थिक अवस्था सुधार्न किसानको अवस्था सुधार्नुपर्छ’

हिमाल प्रेस २७ फागुन २०७९ २०:१७
4
SHARES
‘आर्थिक अवस्था सुधार्न किसानको अवस्था सुधार्नुपर्छ’

काठमाडौँ- वित्तीय क्षेत्रका विज्ञहरूले वर्तमान आर्थिक अवस्थाबाट देश माथि उठाउन कृषि र किसानको अवस्था सुधार गर्नुपर्ने औंल्याएका छन्।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ स्थापना दिवसका अवसरमा शनिबार विज्ञहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने औंल्याएका हुन्। कृषिजन्य वस्तुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिनसके अर्थतन्त्र सुधारको बाटो खुल्ने उनीहरूको भनाइ थियो।

कृषि विकास बैंकका पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए। ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानलाई प्रोत्साहन गर्न सरकारले सहकारीको पहिचान गरी कृषि कार्यक्रम कार्यन्वयनमा जोड दिनुपर्ने उनले बताए। ‘सहकारीमा समस्या मात्र छैनन्,’ उनले भने, ‘सम्भावना बोकेका र आफूलाई सफल प्रमाणित गरेका सहकारी पनि छन्, त्यसको पहिचान गर्ने र सहकारी तथा लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्छ।’

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषणप्रति असन्तुष्टि व्यक्त गरे। आफ्नो संस्थाले अहिले एक हजार चार सय ५९ साझेदार साना किसान कृषि सहकारीमार्फत सेवा प्रवाह गरिरहेको उनले बताए।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको दूरदराजका किसानलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे।

किसानलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पादन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा देशभरका एक हजार चार सय ५९ साझेदार सहकारी संस्थामध्ये उत्कृष्ट संस्थाका रूपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड सुर्खेतलाई पुरस्कृत गरिएको थियो।

त्यसैगरी ११ वटा इलाका कार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रूपमा हेटौँडा इलाका कार्यालयलाई उत्कृष्ट इलाका कार्यालयका रूपमा पुरस्कृत गरिएको छ।

प्रकाशित: २७ फागुन २०७९ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =