इंग्लिस प्रिमियर लिग : लिभरपुलको शीर्ष चारमा फर्कने दाउ, जागिर बचाउने दबाबमा रोजर्स र मोयस

हिमाल प्रेस २७ फागुन २०७९ १४:२१
10
SHARES
इंग्लिस प्रिमियर लिग : लिभरपुलको शीर्ष चारमा फर्कने दाउ, जागिर बचाउने दबाबमा रोजर्स र मोयस

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार साँझ फर्कदा आर्सनल, लिभरपुल, टोटनहम, चेल्सी र म्यानचेस्टर सिटी फरक फरक लक्ष्यका साथ मैदान उत्रदैछन्। लन्डन डर्बीमा आर्सनलको भेट फुलहमसँग हुनेछ। आइतबार राति फुलहमलाई उसको मैदानमा हराउन सके उपाधि दौडमा आफ्नो विश्वसनीयता बढ्ने आर्सनलको आश छ।

सिटी चाहिँ शनिबार राति क्रिस्टल प्यालेसको सामना गर्दैछ। प्यालेसको मैदानमा हुने यो खेल जित्दै शीर्षस्थानको आर्सनलमाथि दबाब बढाउने लक्ष्य सिटीको हो। हाल आर्सनल र सिटीबीच पाँच अंकको दूरी छ।

पछिल्लो खेलमा पुरानो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि नसोचेको अन्तरमा जित हासिल गरेपछि उत्साहित बनेको लिभरपुल शीर्ष चारति लम्किरहेको छ। यो लम्काइमा बर्नमाउथले बाधा पुर्‍याउला कि भन्नेमा लिभरपुल सचेत छ। यी दुई टिम शनिबार साँझ भिटालिटी रंगशालामा भिड्दैछन्।

उपाधि दौड प्रतिस्पर्धात्मक बन्दै जाँदा अंक तालिकाको मध्यभागमा भइरहेको होडबाजी पनि कम रोचक छैन। २० देखि १२ औँ स्थानमा रहेका क्लबबीच फगत ६ अंकको फरक छ। यस्तोमा रेलिगेसनबाट बच्ने प्रतिस्पर्धा कडा हुँदै जाने देखिन्छ।

यो प्रतिस्पर्धामा लेस्टर सिटी र वेस्टह्याम युनाइटेड पनि छन्। यी दुवै टिम यो साता अनिवार्य जितको खोजीमा रहनेछन्। १५ औँ स्थानको लेस्टरले शनिबार चेल्सी र १६ औँ स्थानको वेस्टह्यामले आइतबार एस्टन भिल्लाको सामना गर्ने तालिका छ।

उपाधि दौडमा युरोपेली फुटबलको प्रभाव

आर्सनलले पछिल्ला तीन खेल जितेको छ। तीनमध्ये दुई खेल आर्सनलले आतिरिक्त समयमा निर्णायक गोल गरेर जितेको हो। त्यहीकारण आर्सनलले सिटीमाथि दूरी कायम गर्न सकेको हो।

फुलहमसँग भिड्दा आर्सनलल यो लयलाई कायम राख्न चाहन्छ। तर युरोपा लिगका कारण व्यस्त बनेको तालिका आर्सनलको पक्षमा छैन। आर्सनल अन्तिम १६ को पहिलो लेग खल्न बिहीबार राति लिस्बनसँग पुगेको थियो। आउँदो बिहीबार आर्सनल इमिरेट्समा स्पोर्टिङ लिस्बनसँग दोस्रो लेगमा आमनेसामने हुनेछ।

यही बीचमा फुलहमसँगको खेल आइपुगेको हो। यस्तोमा प्रशिक्षक मिकेल आर्टेटाले चलाखीपूर्वक खेलाडीलाई पालैपालो प्रयोग गर्नुपर्नेछ। जबकि आर्सनललाई उपाधि दौडमा टक्कर दिइरहेको सिटीले भने यो साता च्याम्पियन्स लिग खेल्नु परेन। आउँदो मंगलबार भने सिटीले आरबी लाइपजिगको सामना गर्ने तालिका छ।

लयमा लिभरपुल

लिभरपुल चार खेलमा अपराजित छ। गत साता युनाइटेडविरुद्ध ७–० को जित दर्ता गर्नुअघि लिभरपुलले प्यालेससँग बराबरी खेलेको थियाे भने न्युकासल युनाइटेड र एभरटनलाई २–० को समान अन्तरले पराजित गरेको थियो।

ती तीन जितका कारण लिभरपुल यो सिजन पहिलो पटक चौथो स्थान नजिक पुगेको छ। शनिबार साँझ बर्नमाउथलाई हराए लिभरपुल चौथो स्थानमा उक्लिनेछ। तर चौथो स्थानमाथि लिभरपुलको कब्जा केही घण्टामात्र टिक्न सक्छ। किनभने नटिङहम फरेस्टलाई हराएर टोटनहमले चौथो स्थान फिर्ता लिनसक्छ।

गत अगस्टमा लिभरपुलले बर्नमाउथमाथि ९–० को जित हात पारेको थियो। नयाँ सिजनको सुरुवाती तीन खेलमा जित दर्ता गर्न नसकेको लिभरपुलका लागि बर्नमाउथविरुद्धको जित राहत बन्यो। तर त्यसपछिका चार खेलमा लिभरपुलले जम्मा एक जित मात्र हासिल गर्‍यो।

नयाँ सिजनको सुरुवात बलियो ढंगमा गर्न नसकेकौ कारण लिभरपुल शीर्ष चारभन्दा मध्यभागतिर झर्दै गयो। तर पछिल्ला केही खेलमा हासिल गरेको नतिजाका कारण लिभरपुल आशावादी बनेको छ।

चार खेलमा गोल नखानु र उपलब्ध १५ मध्ये १३ अंक बटुल्नुले लिभरपुल समर्थकमा उत्साह ल्याएको हो। त्यसमाथि नयाँ स्वरुपको अग्रपंक्तिले पनि प्रभावशाली प्रदर्शन गर्न सकिरहेको छ। युनाइटेडविरुद्ध लिभरपुल अग्रपंक्तिका तीनै फरवार्ड कोडी गाक्पो, डार्विन नुनेज र मोहम्मद सलाहले दुई–दुई गोल गरेका थिए।

‘लगातार खेल जितेपछि खेलाडीहरूमा भिन्दै उत्साह छ। अब हामीसँग बर्नमाउथसँगको खेलका लागि तयारी गर्न पाँच् पदन समय छ, आशा छ हामी यो भिडन्तका लागि तयार हुनेछौँ,’ युनाइटेडमाथि जित हात पारेपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लपले भनेका थिए।

लिभरपुलसँगै न्युकासल युनाइटेडसँग चौथो स्थानका लागि संघर्ष गरिरहेको टोटनहम हाल खराब लयमा छ। टोटनहमले पछिल्ला तीन खेलमा गोल नै गरेको छैन। च्याम्पियन्स लिग र एफए कपबाट बाहिरिएको टोटनहम गत साता लिगमा उल्भरह्याम्पटनसँग हारेको थियो।

शनिबार राति नोटिङहमविरुद्ध मैदान ओर्लिदा टोटनहमले गत नोभेम्बरमा लिग कपमा भोगेको पराजय भुलेको हुनेछैन। त्यसबेला टोटनहम २–० ले स्तब्ध बनेको थियो।

उता न्युकासलले भने आइतबार राति उल्भरह्याम्पटनलाई सेन्ट जेम्स र्पाकमा स्वागत गर्नेछ। यो खेल जित्दै न्युकासल पाँच खेलको जितविहीन यात्रा अन्त्य गर्न चाहन्छ।

रोजर्स र मोयसमाथि बर्खास्तगीको तरबार

गएका केही सिजन ब्रेन्डन रोजर्स र डेभिड मोयस प्रिमियर लिगका उत्कृष्ट प्रशिक्षकको सूचीमा पर्थे। लेस्टर र वेस्टह्यामलाई युरोपियन फुटबलमा पुर्‍याएका कारण उनीहरूको सम्मान बढेको थियो।

तर यसपालि स्थिति फेरिएको छ। लेस्टरले जम्मा सात र वेस्टह्यामले ६ खेल मात्र जित्न सकेका छन्। गएको महिना एस्टन भिल्ला र टोटनहमलाई हराएर लयमा फर्किने संकेत गरेको लेस्टरले त्यसपछि लगातार तीन पराजय भोगेको छ। जसले गर्दा रोजर्स बर्खास्तको नजिक पुगेका छन्।

रोजर्स नेतृत्वको लेस्टर शनिबार उत्साहित चेल्सीसँग प्रतिस्पर्धामा उत्रदैछ। चेल्सीको उत्साहको कारण हो, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्नु।

मोयस यो सिजन पटक पटक बर्खास्तगीबाट बचेका छन्। घरेलु मैदानमा एभरटन र नटिङहम फरेस्टमाथि जित दर्ता गरेपछि जागिर बचाएका मोयस गत साता ब्राइटनसँगको हारका कारण फेरि दबाबमा परेका हुन्। म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक मोयसका लागि आइतबार रातिको खेल असाध्यै महत्त्वपूर्ण छ। लन्डन रंगशालामा वेस्टहयाम फेरि एकपल्ट हारे, मोयस बिदा हुनसक्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =