के रामसहाय बन्लान् गठबन्धनका साझा उम्मेदवार?

हिमाल प्रेस २७ फागुन २०७९ ७:१७
के रामसहाय बन्लान् गठबन्धनका साझा उम्मेदवार?

काठमाडौँ- उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। यही कारण आज जसरी पनि उम्मेदवार टुंग्याउनुपर्ने दबाब दलहरूमाथि छ। उम्मेदवार चयनकै लागि शुक्रबार पनि गठबन्धनको बैठक बसेको थियो। तर टुंगो लाग्न सकेन।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार गठबन्धनका दलहरू साझा उम्मेदवार बन्नुपर्नेमा एक ठाउँमा छन्। गठबन्धन घटक माओवादी केन्द्रको जोड उपराष्ट्रपतिमा महिला हुनुपर्ने  छ। यही विषयमा नेपाली कांग्रेस, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि सहमत छन्। तर उम्मेदवार को बन्ने भन्ने टुंगो छैन।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित बनिसकेका छन्। खस आर्य र पुरुषको प्रतिनिधित्व राष्ट्रपतिमा भएकाले फरक लिंगको व्यक्तिलाई उपराष्ट्रपतिमा लैजाने जोड कांग्रेस-माओवादीको छ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेत महिलालाई उपराष्ट्रपति बनाउनु पर्ने बताउँछन्। यसअघि गठबन्धनका तर्फबाट जसपा संसदीय दलका नेता रासहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थियो। पछिल्लो समय जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको छ।

जनमतले जनमत पार्टीले ममता झा र नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। यद्यपि ४५ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक प्रावधानका कारण अध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउँदिनन्।

जनमत र नाउपाले भन्दा पहिले नै जनता समाजवादी पार्टी (जसपा) ले रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको कार्यकार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। कांग्रेसलाई राष्ट्रपति दिने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने समझदारी भएको नेताहरूको दाबी छ।

गठबन्धनभित्रैबाट एकभन्दा बढी दलको दाबी र राष्ट्रपतिभन्दा फरक समुदाय वा लिंग हुनुपर्ने प्रावधानका कारण शनिबार गठन्धनका शीर्ष नेतासहितको बैठक बस्न लागेको हो। बालुवाटार स्रोतका अनुसार गठबन्धनका ठूला दलमा जसपालाई उपराष्ट्रपति दिने लगभग सहमति भएको छ।।

बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको कार्यक्रम छ।

के गर्ला एमाले?

प्रमुख प्रतिपक्षी एमाले भने हालसम्म अनिर्णित छ। एमालेले आजै सचिवालयको बैठकमार्फत निर्णय गर्ने बताएको छ। एमालेले उपराष्ट्रपतिमा उम्मेदवारी नदिने सम्भावना छ। राष्ट्रपतिमा सुवास नेम्बाङले लज्जास्पद हार व्यहोरेपछि उपराष्ट्रपतिमा एमाले अघि नसर्ने नेताहरू बताउँछन्।

 

प्रकाशित: २७ फागुन २०७९ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =