ए डिभिजन लिग : रोकिएन चर्च ब्वाइज, थ्रीस्टारको पहिलो जित

हिमाल प्रेस २६ फागुन २०७९ २०:५०
8
SHARES
ए डिभिजन लिग : रोकिएन चर्च ब्वाइज, थ्रीस्टारको पहिलो जित बलका लागि जुध्दै हिमालयन शेर्पा र चर्च ब्वाइज क्लब (सेताे जर्सी ) का खेलाडी।

काठमाडौँ- पहिलो हाफमा आशिष चौधरीले गरेको गोल निर्णायक बनेपछि चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पा क्लबमाथि १–० को जित दर्ता गरेको छ। सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइजको यो लगातार तेस्रो जित हो।

शुक्रबार दशरथ रंगशालामा आशिषले एरिक विष्टको पासमा गोल गरेका थिए। मिडफिल्डर एरिकले मैदानको मध्यभागबाट दिएको लामो पास नियन्त्रणमा लिँदै आशिषले चलाखीपूर्ण गोल गरे। उनका लागि लिगमा यो दोस्रो गोल हो। उनले नेपाल पुलिस क्लबविरुद्ध एक गोल गरेका थिए।

यो जितपछि चर्च ब्वाइजले लिगको शीर्षस्थानमाथि पकड बलियो बनाएको छ। यही सिजन ए डिभिजनमा उक्लिएको चर्च ब्वाइजले तीन खेलबाट नौ अंक जम्मा गरेको छ। चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–१ र दोस्रो खेलमा आफू जस्तै नवप्रवेशी एफसी खुमलटारलाई १–० ले पराजित गरेको थियो।

जितपछि चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले तीन अंक बटुल्ने लक्ष्य सफल भएको प्रतिक्रिया दिए। ‘हामीले खेलेको तीन अंकका लागि नै हो। त्यसमा सफल भयौँ। सुरुवाती १०–१५ मिनेटभित्रै हामीले गोलका अवसर सिर्जना गरेका थियौँ। तर फिनिसिङमा चुकिरह्यौँ,’ रमेशले भने, ‘फिनिसिङ राम्रो नहुँदा हामीलाई गाह्रो भइरहेको छ। स्ट्राइकर नहुँदा गोलका अवसर खेर गइरहेका छन्।’

गाेलकाे खुसीयाली मनाउँदै थ्रीस्टार क्लबका अजायी मार्टिन्स

मनाङ मस्र्याङ्दी क्लबलाई १–१ को बराबरीमा रोकेर सिजनको सुरुवात गरेको हिमालयन शेर्पा हाल सातौँ स्थानमा छ। तीन खेलबाट चार अंक बटुलेको हिमालयन शेर्पाको एक मात्र जित नेपाल पुलिस क्लबमाथि थियो।

हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीले पनि आफ्नो टिममा फिनिसिङ सबैभन्दा कमजोर पक्ष रहेको बताए। ‘खराब नतिजा बाबजुद आजको प्रदर्शन राम्रो थियो। टिममा सुधार भइरहेको छ। पर्याप्त आरामबिना खेल्नुपर्दा खेलाडी थकित छन्। अर्को खेलका लागि भने यसपालिको भन्दा बढी आराम पाइने हुँदा खेलमा सुधार हुने आश छ,’ विजेन्द्रले भने।

हिमालयन शेर्पाले पुलिसँग बुधबार खेलेको थियो। अब अर्को खेल भने हिमालयन शेर्पाले सोमबार खेल्ने तालिका छ। त्यस दिन हिमालयन शेर्पाको भेट खुमलटारसँग हुनेछ। नवप्रवेशी खुमलटारविरुद्धको खेलमा पहिलो रोजाइका गोलकिपर किशोर गिरी पुलिससँगको खेलमा घाइते भएका किशोर अझैँ पाँच खेलका लागि मैदानबाहिर रहने विजेन्द्रको भनाइ थियो। विदेशी फरवार्ड अभ्यासमा घाइते भएकाले आउँदो खेलका लागि फिट नहुन सक्छन्।

शुक्रबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लबले एफसी खुमलटारलाई २–० ले पन्छायो। नाइजेरियाली स्ट्राइकर अजायी मार्टिन्सले दुई गोल गरेपछि थ्रीस्टारले लिगमा पहिलो विजय हासिल गरेको हो। नयाँ सिजनको सुरुवात नेपाल एपीएफ कलबसँग २–० को हार भागेर गरेको थ्रीस्टार गत मंगलबार आफ्नो दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग ३–३ को बराबरीमा रोकिएको थियो।

तीन खेल खेलिसक्दा थ्रीस्टार चार अंकसहित सातौँ स्थानमा छ। ए डिभिजन लिग यात्रा फेन्ड्सलाई हराएर गरेको खुमलटारले त्यसपछिका दुई खेलमा पराजय भोगेको छ। यसअघि चर्च ब्वाइजसँग हारेको खुमलटार तीन अंक जम्मा गर्दै नवौँ स्थानमा सीमित छ।

प्रकाशित: २६ फागुन २०७९ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =