युरोपा लिग राउन्डअप : युनाइटेडको फराकिलो जित, आर्सनल आत्मघाती गोलले जोगियो

हिमाल प्रेस २६ फागुन २०७९ १०:२६
10
SHARES
युरोपा लिग राउन्डअप : युनाइटेडको फराकिलो जित, आर्सनल आत्मघाती गोलले जोगियो

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग फराकिलो हार व्यहोरेपछि निराश बनकोे म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा भने जित हात पारेको छ। युरोपा प्रिक्वार्टरफाइनलको पहिलो लेगमा युनाइटेडले स्पेनी विपक्षी रियल बेटिसमलाई ४–१ ले पराजित गर्‍यो।

बिहीबार राति युनाइटेडलाई जिताउन वाउट वेघोसर्ट दुई तथा मार्कस रासफोर्ड, एन्टोनी र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरे। ओल्ड ट्राफोर्डमा बेटिसबाट आयोजे पेरेजले एक गोल फर्काएका थिए।

पहिलो हाफको छैटौँ मिनेटमा रासफोर्डको गोलबाट युनाइटेड अघि बढेको थियो। तर ३२ औँ मिनेटमा पेरेजले गोल गरेपछि बेटिस खेलमा फर्कियो। पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा युनाइटेडले लगातार गोल थप्यो।

एनफिल्डमा सन् १९३१ यताकै खराब पराजय भोगेको युनाइटेडले बेटिससँगको खेलमा उही पहिलो एघारलाई मैदान उतारेको थियो। एरिक टेन हागको यो निर्णय सही साबित भयो।

‘ठूलो हारपछि टिमले कसरी प्रतिक्रिया दिन्छ भनेर हेर्नु थियो। सबै खेलाडीले गम्भीर भएर खेले। यसरी हारपछि पुनरागमन जित दर्ता गरेको यो पहिलो पटक होइन। हामीले देखाएको छौँ, हारले हामी आत्तिदैनौँ। यो टिमका खेलाडीको मनोबल बलियो छ,’ टेन हागले भने।

टेन हागले गोलकर्ता ब्रुनोको तारिफ गरे। ‘आज ब्रुनोले गजब खेले। पहिलो मिनेटबाटै उनले टिमको प्रभावकारी ढंगमा नेतृत्व गरे। उनले गोल त गरे नै, टिमम सन्तुलन पनि कायम गरे,’ ह्यारी मग्वायरको नहुँदा ब्रुनो नै कप्तानका रुपमा रहने स्पष्ट पारेका ब्रुनोले भने।

उता प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल भने स्पोर्टिङ लिस्बनका हिडेमा मोरिटाले आत्मघाती गोल गरेपछि हारबाट जोगियो। स्पोर्टिङको मैदानमा विलियम सलिबाको गोलमार्फत आर्सनलले २२ औँ अग्रता लिएको थियो। १२ मिनेटपछि गोन्सालो इनासियोले गोल गरेपछि स्र्पोटिङ खेलमा फर्कियो।

दोस्रो हाफको ५५ औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि स्र्पोटिङले अग्रता लियो। तर ६२ औँ मिनेटमा जापानी मिडफिल्डर मोरिटाले आफ्नै पोस्टमा गोल गरेपछि स्र्पोटिङ महत्त्वपूर्ण जितबात वञ्चित भयो।

‘विपक्षीको मैदानमा दुई गोल खाँदा पनि बराबरीको नतिजा हात पार्नुलाई सकारात्मक मान्नुपर्छ। यसो भनिरहँदा हामीले खराब खेलेको पनि स्वीकार गर्नुपर्छ। हामीले धेरै पटक खेलाँचाी गरेर खेल्यौँ,’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने।

अन्तिम १६ का अन्य खेलमा इटालीका दुवै क्लबले जित दर्ता गरे। युभेन्टसले जर्मनीको फ्राइबर्गमाथि १–० को साँघुरो जित हासिल गर्दा एएस रोमाले रियल सोसिडाडलाई २–० ले पन्छायो। युभेन्टसको जितमा एंगल डि मारियाले निर्णायक गोल गरे। रोमालाई विजयी बनाउन स्टेफन अल सरावी र मारास कुम्बुलाले एक–एक गोल गरे।

६ पटकको युरोपा विजेता सेभियाले घरेलु मैदानमा टर्कीको फेनरबासेलाई २–० ले हरायो। ला लिगामा रेलिगेसनबाट बच्न संघर्षरत सेभियाले युरोपेली क्लब फुटबलमा मजबुत प्रदर्शन ग¥यो। उसका लागि जोआन जोर्डन र एरिक लामेलाले गोल गरे।

बुन्डेसलिगामा सबैलाई छक्क पार्नेगरी खेल देखाइरहेको युनियन बर्लिनले बेल्जियमको युनियन सेन्ट गिलोइससँग बराबरी खेल्यो। युनियन खेलमा तीन पटक पछि परेको थियो। यद्यपि प्रत्येक पटक बराबरी गोल गर्दै युनियनले आखिरमा एक अंक बटुल्यो।

जाबी अलोन्सोको प्रशिक्षणमा खेलिरहेको बायर्न लेभरकुजनले हंगेरीको फेरेन्कभारोसलाई २–० ले पन्छायो। लेभरकुजनको जितमा केरेम डेमिरबाई र एडमन्ड टाप्सोबाले एक–एक गोल गरे।

प्रकाशित: २६ फागुन २०७९ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =