पौडेल राष्ट्रपति भएपछि गाउँमा खुसीयाली

हिमाल प्रेस २५ फागुन २०७९ १९:२२
10
SHARES
पौडेल राष्ट्रपति भएपछि गाउँमा खुसीयाली

तनहुँ- रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उनको जन्मगाउँ रिस्तीमा खुसीयाली मनाइएको छ। तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा उनका गाउँले रिस्तीवासीले आपसमा बधाई साटासाट गर्दै खुसीयाली मनाएका हुन् । ‘यस्तो खुसी मनाउने अवसर हामी रिस्तीवासीले अब कहिले पाइएला?’ रिस्तीका रामप्रसाद मिश्रले भने, ‘अहिले मौकामा आपसमा बधाई साटासाट गरेका छौँ।’

रिस्तीमा जन्मिएका व्यक्ति मुलुककै अभिभावक हुँदा खुसीको सीमा नरहेको उनको भनाइ थियो। राष्ट्रपति पौडेललाई स्थानीयले निष्ठावान्, त्यागी र आदर्शवादी नेताको रूपमा बुझ्ने गर्छन्।

पञ्चायती व्यवस्थाविरुद्ध पटकपटक गरी करिब १४ वर्ष राजनीतिक बन्दीको रूपमा जेल परेका पौडेललाई राष्ट्र प्रमुखको रूपमा देख्न पाउँदा उनको त्याग र कर्मको कदर भएको स्थानीयले बताएका छन्।

स्थानीय ७६ वर्षीय कृष्णकान्त पौडेलले काम त भोलि पनि गर्न सकिने भन्दै आज कामबाट बिदा लिएर खुसी मनाइरहेको बताए। ‘यस्तो खुसी मनाउने मौका फेरी आउने कुरा भएन,’ उनले भने, ‘यो दिन कहिले आउला भन्ने थियो। बल्ल गाउँमा खुसी छाएको छ।’

राष्ट्रपति पौडेललाई प्रत्यक्ष भेटेर बधाई दिन रिस्तीका स्थानीय केही नेता तथा अगुवा काठमाडौँ पुगी सकेका छन्। ‘हाम्रै गाउँमा जन्मिएका त्यागी नेता राष्ट्रपति हुँदा पालिकावासी सबै खुसी छौँ,’ बधाई दिन काठमाडौँ पुगेका व्यास नगरपालिका-८ का वडाध्यक्ष युवराज गुरुङले भने।

राष्ट्रपति पौडेलले संविधानको पूर्ण पालना गर्नुपर्ने र आफूलाई विवादरहित बनाउने गरी काम गुर्नपर्ने गुरुङको सुझाव छ।

पञ्चायती व्यवस्थाको विरोधमा लाग्दा तत्कालीन प्रशासनबाट बचाउन आफूले पौडेललाई लुकाएर खाना खुवाएको सम्झिरहेको राष्ट्रपति पौडेलकी भाउजु नानीमायाले बताइन्।

जनता र मुलुकको समृद्धिका लागि पटकपटक जेल पर्नुभएका देवरको ढिला भए पनि योगदानको कदर भएकोमा गर्व लागेको उनले बताइन्। ‘संघर्षको बेला देवर बाबुले जनता र मुलुकको लागि मर्नसमेत डराउनुहुँदैन भनेर भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिले यस्तो खुसीको दिन पनि देख्न पाइयो।’

रिस्तीको बाहुनपोखरामा जन्मेका पौडेल घरका जेठा सन्तान हुन्। उनका पाँच भाइ र चार बहिनी छन्। राष्ट्रपति पौडेलले स्थानीय कृष्णालय पाठशालाबाट अक्षरारम्भ गरेका थिए। त्यसपछि लमजुङ दुराडाँडामा रहेको पाणिनी पाठशालाबाट प्राथमिक तहको शिक्षा पूरा गरे।

निम्न माध्यमिक तहको शिक्षा भने उनले पोखरास्थित विन्ध्यावासिनी माध्यमिक विद्यालयमा पढे पनि काठमाडौँबाटै एसएलसी उत्तीर्ण गरेका हुन्।

पौडेलको रिस्ती र दमौलीको अमरापुरीमा घर छ। विसं २०४८ को आमनिर्वाचनमा विजयी भएपछि रिस्तीको घर छाडेर पौडेल परिवार काठमाडौँ बसाइ सरेको हो।

प्रकाशित: २५ फागुन २०७९ १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =