लिग-२ : आशिफको शतकमा नेपालको कीर्तिमानी २९७ रन

हिमाल प्रेस २५ फागुन २०७९ १३:२१
8
SHARES
लिग-२ : आशिफको शतकमा नेपालको कीर्तिमानी २९७ रन

काठमाडौँ- आशिफ शेखले एकदिवसीय एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरमा बिहीबार सुरु शृंखलाको पहिलो खेलमा आशिफले आक्रामक ब्याटिङ गरे।

ओपनर आशिफले ११० बलमा ११० रन बनाएपछि नेपालले ४९.१ ओभरमा विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको हो। यो योगफल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले बनाएको सर्वाधिक ठूलो योगफल हो। यसअघि कीर्तिपुरमै भएको लिग-२ अन्तगर्तकै शृंखलामा नेपालले नामिबियाविरुद्ध २८७ रन बनाएको थियो।

सेप्टेम्बर, २०२१ मा पीएनजीसँगको खेलबाटै एकविदसीय एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका आशिफ नेपालका लागि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने। यसअघि नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार पूरा गर्ने खेलाडी कप्तान रोहित पौडेल मात्र थिए।

त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाललाई गतिलो सुरुवात दिलाउन आशिफ र कुशल भुर्तेलको ओपनिङ जोडीले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे। कुशल ४५ रन बनाएर १९ औँ ओभरमा आउट भए पनि आशिफ ३८ औँ ओभरसम्म टिके। आशिफले दुई छक्का र १२ चौका प्रहार गरे भने कुशलले ५६ बलमा ६ चौका हिर्काए।

आशिफलाई सेमो कामेआले ३८ औँ ओभरकको चौथो बलमा रिले हेकुरेमार्फत क्याच आउट गराएका थिए। त्यसअघिको बलमा असाद भालाले क्याच छाडेपछि आशिफ जोगिएका थिए। तर फेरि लामो सट खेलेका उनलाई यसपल्ट भने हेकुरले क्याच आउट गराए।

नेपालका लागि उल्लेखनीय रन जोड्ने अर्का खेलाडी भीम शार्की रहे। ३८ बलमा ४४ रन बटुलेका भीमले चार चौका प्रहार गरे। बलियो लयमा देखिएका भीमले दुबईमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ७० रन बनाएका थिए।

भीमसँगै मध्यक्रमका अर्का ब्याट्सम्यान रोहितले ३० रन जोडे भने आरिफ शेख र करण केसीको नाममा १५ र आठ रन रह्यो। पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १४ बलमा ११ रन बनाएर पभेलियन फर्किए। सन्दीप एक छक्कासहित कुल सात रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

पीएनजीका कामेआले तारिफयोग्य बलिङ गरे। गत मार्चमा कीर्तिपुरमै नेपालसँगकै खेलबाट एकदिवसीयमा डेब्यु गरेका उनले ३८ रन खर्चिएर पाँच विकेट हात पारे। आशिफबाहेक कप्तान रोहित, आरिफ, सन्दीप र भीमको विकेट लिए। पाहुना टिमका लागि हेकुरेले तीन र एलेई नाओले एक विकेट हात पारे।

प्रकाशित: २५ फागुन २०७९ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =