पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडान

हिमाल प्रेस २४ फागुन २०७९ २१:०७
4
SHARES
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडान

कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडान हुने भएको छ। विमानस्थलमा उपकरणका आधारमा विमान उडान-अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले रात्रिकालीन उडान गर्न लागेको हो।

रात्रिकालीन उडान नियमित हुने बुद्धएयरले जानकारी दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो।

हाल विमानस्थलबाट बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म मात्रै जहाज उडान तथा अवतरण हुँदै आएका छन्। अब आवश्यकताका आधारमा राति १२ बजेसम्म उडान गर्न सकिने बताइएको छ।

बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा विमान रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए।

उनका अनुसार हालसम्म बुद्धबाहेकका कम्पनीले रात्रिकालीन उडान तालिका पेस गरेका छैनन्। ‘पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि भोलिदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ,’ उनले बुधबार भने, ‘बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन्।’

यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार नरहेको उनको भनाइ छ। मौसम खराबीका कारण ढिलाइ भएकाले राति अवतरण गरिएको उनले बताए।

बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताए। बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन्।

कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछन्।

पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन। पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन्। यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए।

अंग्र्रेजी नयाँ वर्षको दिन अर्थात् गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो। सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन। रासस

प्रकाशित: २४ फागुन २०७९ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =