तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण चैत ४ देखि

हिमाल प्रेस २४ फागुन २०७९ २०:१७
10
SHARES
तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण चैत ४ देखि

लुम्बिनी– ‘तिलोत्तमा गोल्ड कप’को २२ औं संस्करण आउदो चैत्र ४ गतेदेखि बुटवलमा हुने भएको छ। नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता मानिने तिलोत्तमा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको एन्फा रूपन्देहीले जनाएको छ।

बुटवल-११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुनेछ। एन्फा रूपन्देहीले बुधबार पत्रकार सम्मेलन गरि तयारी पूरा भएको जनाएको हो।

नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले तिलोत्तमा गोल्ड कप यस क्षेत्रकै गौरव भएको बताए। उनले प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई अवसर प्रादन गर्ने उल्लेख गरे।

विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरूबीच हुने प्रतियोगिताको बिजेताले तिलोत्तमा गोल्ड कपमा हालसम्मकै सर्वाधिक ११ लाख ११ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ।

यसैगरी उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद राशिसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख नगद राशि प्राप्त गर्ने छ भने उत्कृष्ट फरवार्डर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछन्।

प्रत्येक खेलको म्याद अफ दी म्याचले ११ हजार १११ रुपैयाँ नगद राशि प्राप्त गर्ने संघका रूपन्देही अध्यक्ष लोक पुनले जानकारी दिए।

यो संस्करणमा करेन्ट रूपन्देही-११ सहित मनाङ मर्स्याङ्दी क्लब काठामडौँ, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदुरपश्चिम-११ गरी ८ टिमको सहभागिता रहेको रूपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए।

४ वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप पछिल्लो संस्करण ०७५ सालमा सम्पन्न भएको थियो। सम्पन्न २१ औं संस्करणको उपाधि चुम्दै क्यामरुन दाउफिन्स क्लबले ८ लाख ८० हजार नगद राशि प्राप्त गरेको थियो।

यस क्षेत्रकै पुरानो प्रतियोगिताको रूपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले ०३१ सालमा स्थापना गरी ०३३ सालदेखि प्रतियोगिता सुरू भएको हो।

यस पटक प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो। बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =