व्यवसायीकाे गुनासो सुनेपछि शेखर कोइरालाले भने- तपाईंहरूका समस्या संसद्‍मा पुर्‍याउँछु

हिमाल प्रेस २३ फागुन २०७९ १८:०२
56
SHARES
व्यवसायीकाे गुनासो सुनेपछि शेखर कोइरालाले भने- तपाईंहरूका समस्या संसद्‍मा पुर्‍याउँछु

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यवसायी र अर्थ क्षेत्रका जानकारहरूसँग अन्तरक्रिया गरेका छन्। कोइरालाले निजीक्षेत्रका व्यवसायी, अर्थविद्हरूसँग अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायबारे मंगलबार काठमाडौँमा छलफल गरेका हुन्।

अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निश्चित क्षेत्र मात्रै नभएर यतिबेला समग्र आर्थिक प्रणाली नै समस्यामा परेको बताए। ‘निजीक्षेत्र, व्यवसायी, बैंक मात्रै होइन सिंगो प्रणाली नै समस्यामा परेको छ,’ उनले भने, ‘राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने विकराल अवस्थामा हामी पुगेका छौँ।’ गोल्छाले भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता समस्या सजिलै पार लगाएको मुलुकले यतिबेला त्योभन्दा गम्भीर समस्या भोगिरहेको बताए।

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकार र समाजले व्यवसायी तथा निजीक्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताए। ‘नाफा गर्नु पाप हो भन्ने जसरी व्यवहार गरिन्छ,’ उनले भने, ‘यसरी कसरी व्यवसायीको मनोबल उकासिन्छ र लगानीको वातावरण बन्छ?’

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले राज्य संयन्त्र इतिहासकै खराब अवस्थामा रहेको बताए। उनले कांग्रेस नेता डा. कोइराला, कार्यक्रममा उपस्थित महामन्त्री गगन थापालगायतलाई अर्थतन्त्रबारे कांग्रेसले स्पष्ट नीति बनाउनुपर्ने धारणा राखे। ‘घोषणापत्रमा राखेर हाम्रो नीति यही हो भनेर हुँदैन, मुलुक चलाउन अर्थसम्बन्धी स्पष्ट नीति र योजना हुनुपर्छ,’ शर्माले भने, ‘अर्थमन्त्रालयको सामान्य अधिकारीले चाहेको बेला बदल्न सक्ने नीति हुँदासम्म यो देशको आर्थिक उन्नति सम्भवै छैन।’

शर्माले समाजिक सुरक्षाका नाममा नगद बाँड्ने परम्परा बन्द गर्नुपर्ने धारणासमेत राखे। ‘वार्षिक ५ लाख युवा श्रम बजारमा आउँछन्, हामीले मुस्किलले १८ हजारलाई रोजगारी दिन सक्छौँ,’ उनले भने, ‘यस्तो मुलुकमा नगद बाँडेर हुँदैन, यसलाई तत्काल रोक्नुपर्छ।’

अन्तरक्रियामा अर्थतन्त्रका समस्या र समाधानका उपाय सुनेपछि नेता कोइरालाले कांग्रेस निजीक्षेत्रको पक्षमा रहेको बताए। ‘हाम्रो पार्टी सधैँ निजीक्षेत्रको विकास र विस्तारको पक्षमा छ,’ उनले भने, ‘त्यसैले तपाईंहरूका सबै समस्या र समाधानका उपाय म संसद् र सरकारसामु पुर्‍याउँछु।’

प्रकाशित: २३ फागुन २०७९ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =