सरकार शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सक्रिय छ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २३ फागुन २०७९ १३:५६
4
SHARES
सरकार शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सक्रिय छ : सञ्चारमन्त्री शर्मा फाइल तस्बिर।

धादिङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकार दत्तचित्त भएर लागेको बताएकी छन्। उनले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पारे।

धादिङको गल्छीमा आजदेखि सुरु भएको सामुदायिक रेडियोहरूको दुईदिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्दै उनले चालु संसद् अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुंगोमा पुर्‍याउने बताए।

अघिल्लो संसद्मा विधेयक पेस भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उनले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरे। यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माको भनाइ छ।

शान्ति प्रक्रिया टुंगोमा नपुग्दा विभिन्न चलखेल सुरु भएको उल्लेख गर्दै उनले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रूपमा भन्दा शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायभित्र रहेर निष्कर्षमा पुर्याउनुपर्ने बताए।

एक अर्को प्रसंगमा सरकारका प्रवक्ता शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्रराष्ट्रसँग सन्तुलित परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको बताए। कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितविपरीत अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रकाशित: २३ फागुन २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =