मनाङ घुम्‍ने पर्यटकलाई निःशुल्क स्वास्थ्य सेवा

हिमाल प्रेस २३ फागुन २०७९ १०:१३
14
SHARES
मनाङ घुम्‍ने पर्यटकलाई निःशुल्क स्वास्थ्य सेवा फाइल तस्बिर।

मनाङ- मनाङ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ।

अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो।

विशेष गरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी कुल ९९५ ले स्वास्थ्य सेवा लिएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष ४९१ र महिला ४३८ र विदेशी पुरुष ४२ र महिला २४ जना पर्यटकले निःशुल्क सेवा लिएको उनले बताए।

विशेष गरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जाने मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेको उनले बताइन्।

‘मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सीधै माथिल्लो मनाङ सवारीसाधनमार्फत पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ, लेक लाग्ने, झाडापखाला, वान्ता हुने समस्याबाट बिरामी भएर निःशुल्क सेवा लिन आउने गर्दछन्,’ उनले भनिन्, ‘विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ।’

बिरामी परेर एक्यापमा आइपुगेका पर्यटक तथा स्थानीयलाई सेवा प्रवाह गरिएको उनको भनाइ छ। पर्यटकमा बढी मात्रामा लेक लाग्ने समस्या भएको हुन्छ भने स्थानीयमा अन्य समस्या लिएर स्वास्थ्य सेवा लिने गरेको उनले बताइन्।

स्थानीय महिला बढी मात्रामा जोर्नी दुख्ने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप सम्बन्धित रोगको उपचारका लागि औषधि तथा परामर्श लिन आउने गरेका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताइन्। उनका अनुसार यससँगै महिला पाठेघरसम्बन्धी समस्या लिएर आउने गरेका छन्।

पाठेघरको उपचार पूर्ण रुपमा नहुने भए पनि परामर्श र प्रिस्क्राब भएका औषधि उपलब्ध भएसम्म बिरामीलाई दिइने गरेको उनको भनाइ छ। थप समस्या देखिएमा बिरामीलाई सम्बन्धित चिकित्सक वा अस्पतालमा उपचारका लागि जान परामर्श गर्ने गरिएको उनले बताइन्।

पदयात्राका लागि मनाङ पर्यटक आउने समय भएको छ। यस वर्ष हिमपात कम भएकाले पर्यटक अफ सिजनमा पनि आइरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। ‘दैनिक रूपमा पर्यटक आउन थालिए सकेका छन्, दैनिक करिब ५० पर्यटक मनाङ भित्रिरहेका छन्,’ उनले भने।

प्रकाशित: २३ फागुन २०७९ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =