लिग-२ : यूएईलाई हराएसँगै नेपाल शीर्ष पाँचमा

हिमाल प्रेस २२ फागुन २०७९ १८:५५
8
SHARES
लिग-२ : यूएईलाई हराएसँगै नेपाल शीर्ष पाँचमा

काठमाडौँ- नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण जितसहित अन्त्य गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको त्रिदेशीय शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले सोमबार साँझ घरेलु टिम यूएईमाथि ४२ रनको जित हात पारेको हो।

यो जितसँगै नेपाल सात टिमसम्मिलित लिग–२ को अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। यूएई भने छैटौँ स्थानमा झर्‍यो। नेपालको ३२ खेलबाट ३२ अंक भएको छ भने उति नै खेल खेलेको यूएईसँग ३१ अंक छ।

नेपालले दुबईमा चारमध्ये तीन खेलमा जित हात पार्‍यो। पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई चार विकेटले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग ६८ रनले पराजित भएको थियो। तेस्रो खेलमा फेरि पीएनजीलाई तीन विकेटले पन्छाएपछि नेपाल अन्तिम खेल जित्ने लक्ष्यमा मैदानमा उत्रिएको थियो।

लिग–२ को शीर्ष पाँचमा रही एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालले अब अन्तिम शृंखला घरेलु भूमिमा खेल्दैछ। आगामी बिहीबारबाट त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृंखलामा नेपालले फेरि यूएई र पीएनजीकै सामना गर्दैछ। तीमध्ये दुई खेल जिते नेपाल शीर्ष पाँचमा रहने पक्का हुनेछ।

चारै खेल जिते नेपाल शीर्ष तीनमा पर्दै विश्वकप छनोटका लागि छानिनेछ। शीर्ष दुईका स्कटल्यान्ड र ओमानले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइसकेका छन्। हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ। अबका चार खेल जिते नेपालले लिग–२ का सबै खेल खेलेको नामबियालाई एक अंकले पछि पार्नेछ।

साेमबारकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो।

प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको यूएई भने ४५ ओभरमा  १८७ रन बनाएर अलआउट भयो। यूएईलाई जितबाट वञ्चित गर्न नेपालका दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले तीन–तीन विकेट लिए।

सोमपालले दोस्रो बलमै यूएईका कप्तान मोहम्मद वासिमको विकेट लिएका थिए। वासिम शून्यमा सीमित भए पनि उनीसँगै ओपनिङ गरेका आशिफ खान भने ४२ औँ ओभरसम्म टिके। ८२ रन बनाएका आशिफले आर्यन लाक्रासँग ९४ रनको साझेदारी गरेका थिए। यो साझेदारी दिपेन्द्रले भत्काए।

आशिफबाहेक लाक्राको विकेट पनि दिपेन्द्रले नै लिएका थिए। लाक्रा २४ औँ ओभरमा ५० रन बनाएर पभेलियन फर्किए। आशिफ र लाक्राबाहेक यूएईका अरु ब्याट्सम्यानले उल्लेखनीय रन जोड्न सकेनन्।

यूएईको मध्यक्रमका ब्याट्सम्यानलाई सोमपालले सस्तोमै समेटे। चुडानगापोयिल रिज्वान सात र रोहन मुस्ताफा ६ रनमा समेटिए। आयान अफ्जाल खान दुई रन बनाएको स्थितिमा रनआउट हुँदा एलिसन शराफु ६ रन बनाएर र कार्थिक मेइयाप्पन खाता नखोली पभेलियन फर्किए।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले एक–एक विकेट हात पारे।

त्यसअघि नेपालले खराब सुरुवात गरेको थियो। ओपनरद्वय आशिफ शेख र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि १४ रनको मात्र साझेदारी गर्नसके।

अशिफ १४ बलमा ६ रन बनाएर आउट हुँदा पूर्वकप्तान ज्ञानेन्द्रले ११ रन बटुले। यी दुवैलाई जुनैद सिद्दिकीले पभेलियन फर्कादिएका थिए।

तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले नेपाली इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। यूएईसँगको पहिलो खेलमा ६० रन बनाएका कुशल यसपालि ३२ रनमा सीमित रहे। उनले ज्ञानेन्द्रसँग २० रनको साझेदारी गर्न भ्याए।

कुशल र मध्यक्रमका अर्का ब्याट्सम्यान तथा कप्तान रोहित पौडेलसँग पनि मजबुत साझेदारी स्थापना हुन सकेन। कुशल १५ औँ ओभरको पहिलो बलमा रोहन मुस्ताफाको बलमा आउट भए। रोहित त्यसअघि नै ११ औँ ओभरमा १ रन बनाएर पभेलियन फर्किएका थिए। मध्यक्रमका दिपेन्द्र सिंह ऐरी चार रनमा सीमित भए। रोहितलाई शिकार बनाएका आर्यन लक्राकै बलमा दिपेन्द्र पनि आउट भएका थिए।

रोहितपछि ब्याटिङ थालेका भीमले ९९ बलमा ७० रन बनाए। १२ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको नेपाललाई उनले १८० रनको स्थितिमा पु¥याए। एकदिवसीयमा पहिलो पटक अर्धशतक प्रहार गरेका भीमले सन्दीप लामिछानेसँग ८५ बलमा ५६ रनको साझेदारी गरे।

त्यसैगरी सातौँ विकेटका लागि उनले र आरिफ शेख मिलेर ५६ रनकै साझेदारी स्थापित गरे। यी दुई साझेदारीका कारण नेपालले सम्मानजनक योगफल बनाउन सकेको हो।

सन्दीप ४० बलमा २७ रन बनाएर पभेलियन फर्किएका थिए। उनीपछि ब्याटिङ गरेका आरिफको नाममा अविजित ४३ रन रह्यो। त्यसैगरी करण केसी र प्रतिस जीसीले १७ र ११ रन बटुले। अन्तिम बलमा छक्का प्रहार गरेका प्रतिस नटआउट रहे।

घरेलु टिमका लागि जुनैद सिद्दिकीले सर्वाधिक तीन विकेट हात पारे। १० ओभर बलिङ गर्दा ५३ रन खर्चिएका सिद्दिकीले नेपालका दुई ओपनरबाहेक करणलाई आउट गरेका थिए। त्यसैगरी लक्रासँगै रोहन मुस्ताफाले पनि दुई विकेट हात पारे। कार्थिक मेइयाप्पनको नाममा एक विकेट रह्यो।

प्रकाशित: २२ फागुन २०७९ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =