तनहुँमा विकास बजेट खर्च नाजुक

हिमाल प्रेस २२ फागुन २०७९ १७:३८
2
SHARE
तनहुँमा विकास बजेट खर्च नाजुक

तनहुँ- संघीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास (पूँजीगत) बजेट खर्च न्यून रहेको छ। चालू आर्थिक वर्ष २०७९/८० का लागि यहाँ विनियोजित विकास बजेट खर्च न्यून भएको हो।

संघीय सरकारमार्फत विनियोजित विकास बजेटमध्ये चालू आर्थिक वर्षको साउनदेखि फागुन तेस्रो सातासम्म ८.६९ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ। प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये सोही अवधिमा १३.३१ प्रतिशत खर्च भएको कार्यालयको विवरण छ। ‘योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा केही ढिलाइ हुने गरेकाले खर्च पनि कम देखिएको हो,’ कोष नियन्त्रक विनोद भट्टराईले भने।

प्रक्रिया पूरा गरेर आवको अन्तिमसम्म भुक्तानी हुँदा बजेट खर्च बढी देखिने उनकोभनाइ थियो। संघीय सरकारमार्फत तनहुँका लागि पूँजीगततर्फ ३ अर्ब १५ करोड ७२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको थियो। अहिलेसम्म २७ करोड ४३ लाख ७२ हजार १ सय ७५ रुपैयाँ खर्च भएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका लागि दुई करोड २६ लाख ५० हजार रुपैयाँ विनियोजन भएकामा २५ लाख १८ हजार १ सय ७४ रुपैयाँ खर्च भएको छ।

त्यस्तै भानुभक्त प्राणी उद्यानका लागि एक करोड ३५ लाख ४० हजार रुपैयाँ विनियोजन भएकामा ५० हजार रुपैयाँ खर्च गरिएको छ। सडक डिभिजन कार्यालयका लागि ६० करोड ९१ लख रुपैयाँ विनियोजन भएकोमा आठ करोड ५४ लाख ६८ हजार चार सय ६० रुपैयाँ खर्च भएको छ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का लागि दुई अर्ब नौ करोड ९९ लाख ६८ हजार रुपैयाँ विनियोजन भएकामा १३ करोड चार लाख ८२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको छ। नयाँ सहर आयोजना कार्यालयका लागि २६ करोड १५ लाख रुपैयाँ विनियोजन भएकामा ५४ लाख ३८ हजार पाँच सय २२ रुपैयाँ खर्च भएको छ।

गण्डकी प्रदेश सरकार मातहत तनहुँमा रहेका कार्यालयको विकास खर्च पनि निराशाजनक छ । साउनदेखि हालसम्म विकास खर्च १३.३१ प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले बताएको छ।

पूँजीगततर्फ दुई अर्ब ६९ करोड ४३ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा ३५ करोड ८८ लाख ६१ हजार दुई सय २३ रुपैयाँ खर्च भएको छ। रासस

प्रकाशित: २२ फागुन २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =