खडेरीले चैते धानखेतीमा असर

हिमाल प्रेस २२ फागुन २०७९ १६:३६
2
SHARE
खडेरीले चैते धानखेतीमा असर फाइल तस्बिर।

उदयपुर- खडेरीका कारण उदयपुरमा चैते धानखेतीमा असर परेकाे छ। उदयपुरको मध्यपूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा फागुनको पहिलो हप्ता लगाइने चैते धानखेती यसपटक खडेरीका कारण लगाइएको छैन। हिउँदमा एकपटक पनि वर्षा नभएकाले अधिकांश किसानले चैते धानखेती लगाएका छैनन्।

रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका किसान दिलबहादुर रिखाम मगरले बताए।

कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि अधिकांशले चैते धानखेती लगाएका छैनन्। कटारी रिस्कुका दमन दनुवारले अधिकांशले चैते धानखेती नलगाएकाले धान उत्पादनमा कमी आउने बताए।

खडेरीका कारण रिस्कु क्षेत्रका साना खोलानालामा पानीको स्रोत सुक्न थालेको छ। पानी नै कम भएका कारण धान रोप्न नै रोप्न नसकिएको दनुवारले बताए। उदयपुरगढी गाउँपालिकाको दनुवार बेँसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुस्किलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताए।

लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाको पानी सुक्दै जान थालेपछि थोरै किसानले मात्रै चैते धानखेती लगाएका जाँतेका बृध्वज बुढाथोकीले बताए।

जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र चिलाउने क्षेत्रका अधिकांश खेतमा पनि चैते धानखेती गर्न नसकिएको खाँबुका किसान देवराज तिमसिनाले बताए। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार उदयपुर जिल्लामा बर्सेनी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ। खडेरीले पानीको स्रोत घट्दा चैते धानखेती गर्न समस्या भएको हुनसक्ने केन्द्रका अधिकृत एवं सूचना अधिकारी महेश चौधरीले बताए।

केन्द्रका अनुसार २०६० सालभन्दा पहिले उदयपुरमा दुई हजार हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गरिन्थयो। गाउँघरका युवाले गाउँ छाड्ने, विदेश पलायन हुने, गाउँमा जनशक्ति अभाव तथा खडेरीले विगतको तुलनामा धानखेती कम हुँदै गएको केन्द्रको भनाइ छ। रासस

प्रकाशित: २२ फागुन २०७९ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =