रामग्राममा फोहोरको दुर्गन्ध, व्यवस्थापन नगरेर रोग निम्त्याउँदै नगरपालिका

हिमाल प्रेस २२ फागुन २०७९ १४:५४
4
SHARES
रामग्राममा फोहोरको दुर्गन्ध, व्यवस्थापन नगरेर रोग निम्त्याउँदै नगरपालिका

नवलपरासी- नवलपरासीको रामग्राम नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको छ। जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको रामग्राममा फोहोर व्यवस्थापन नहुँदा स्थानीय दुर्गन्धको मारमा परेका छन्।

फोहोर व्यवस्थापनका लागि डम्पिङ साईटको व्यवस्था नहुँदा यहाँका स्थानीय फोहोरको मारमा परेका हुन। फोहोर सहुवाटिकर नदी किनारामा फालिने र त्यसले स्थानीय र नदीलाई समेत दुर्गन्धित बनाउँदा आफूहरू मारमा परेको स्थानीयको गुनासो छ। खेतीयोग्य जमिनमा सिधै फोहोर फालिँदा स्थानीय किसानहरू पनि मारमा परेका छन।

फोहोर व्यवस्थापनका लागि हालसम्म पनि यस नगरपालिकामा डम्पिङ साईट बनेको छैन। दिनहुँ निस्कने फोहोर रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरस्थित नदी किनारमा निजी जग्गामा पनि फैलिँदै गएको छ। नगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा फोहोर सिधै नदीमा पनि मिसिएर प्रदूषण बढेको छ। स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्जसहितका फोहोर पनि सोही जग्गामा फालिने गरेका छन्। त्यही नजिकै मरेका चौपाया पनि फालिने गरेको छ।

नगरपालिकाले मन लाग्दी फोहोर फालिरहेको छ। जसका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन्। तर नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरू नै दोषि रहेको स्थानीयको आरोप छ।

यहाँका अधिकांश स्थानीय तहले अहिले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन्। जसका कारण खोला, बाटो, झाडी, जंगलमै फोहोर फाल्ने गरेका छन्। नगरको फोहोर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको भए पनि स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नगरेको स्वयम् जनप्रतिनिधि नै बताउँछन्।

रामग्राम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रुद्रप्रसाद उपाध्यायले नगरपालिकाले बजेटको उचित व्यवस्था नगरेकाले फोहोर व्यवस्थापन गर्न नसकिने स्वीकार गरे।

डम्पिङ साईटको तत्काल व्यवस्थापन गरेर फोहोरको व्यवस्थापन गर्नुपर्ने माग यहाँका स्थानीयले गरेका छन्। फोहोरका कारण विभिन्न रोगको जोखिम हुने भएकाले फोहोर व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन जरुरी रहेको सरोकारवालाले औंल्याएका छन्।

प्रकाशित: २२ फागुन २०७९ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =