एनफिल्डमा इतिहासको पुनर्लेखन

हिमाल प्रेस २२ फागुन २०७९ १२:४८
6
SHARES
एनफिल्डमा इतिहासको पुनर्लेखन

काठमाडौँ- काेडी गाक्पो, डार्विन नुनेज र मोहम्मद सलाहले दुई–दुई गोल गरेपछि लिभरपुलले पुरानो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि ७–० को जित दर्ता गरेको छ। इंग्लिस प्रिमियर लिगमा यो सिजन संघर्षरत लिभरपुलका लागि अर्को गोल रोबर्टो फरमिन्होले थपे।

आइतबार रातिको यो नतिजा योर्गन क्लपको टिमका लागि ऐतिहासिक रह्यो। लिभरपुलले म्यानचेस्टर युनाइटेडमविरुद्ध धेरैअघि मात्र यत्तिको संख्यामा गोल गरेको थियो। सन् १८९५ मा लिभरपुलले युनाइटेडलाई दोस्रो श्रेणीको लिगमा ७–१ ले पराजित गरेको थियो।

‘धेरैपछि लिभरपुलले यस्तो बेजोड प्रदर्शन गरेको हो। लिभरपुलका खेलाडीले कुन स्तरको खेल देखाउन सक्छन् भनेर यो नतिजाले देखाएको छ,’ क्लपले भने,‘विशेषगरी दोस्रो हाफमा हामीले उम्दा प्रदर्शन गर्‍यौँ।’

लिभरपुलसँगको हारले युनाइटेडको उपाधि लक्ष्यमा स्वाभाविक रुपमा धक्का लागेको छ। सबैखाले प्रतियोगितामा गरी २३ खेलमा दोस्रो पराजय भोगे पनि युनाइटेड लिगको शीर्षस्थानबाट १४ अंकले टाढा छ।

‘हाम्रा खेलाडीहरुले व्यावसायिक चरित्र देखाएनन्। यसकारण यो नतिजा स्वाभाविक हो। हाम्रो खेलमा धेरै कमजोरी थिए। तिनले मलाई क्रोधित बनाएको छ,’ हारपछि एरिक टेन हागले भने।

उता लिभरपुल शीर्ष चारको नजिक पुगेको छ। चौथो स्थानको टोटनहमसँगको दूरी लिभरपुलले तीन अंकमा झार्‍यो। टोटनहमको २६ खेलबाट ४५ अंक छ भने एक खेल कम खेलेको लिभरपुलसँग ४२ छ।गएको सिजन लिभरपुलले युनाइटेडलाई दुवै खेलमा हराएको थियो। समग्रमा ९–० ले हबी भएको लिभरपुल यसपालि भने पहिलो खेलमा २–१ ले पराजित भएको थियो।

अगस्टमा लिभरपुलमाथि ओल्ड ट्राफोर्डमा २–१ को जित दर्ता गर्दा युनाइटेडका प्रशिक्ष टेन हाग इंग्लि फुटबल करियरको सुरुवातमा थिए। त्यसयता युनाइटेड अंक तालिकामा उकालो लाग्दा लिभरपुल भने ओरालो झरिरह्यो।

लिभरपुल अर्को सिजन जसरी हुन्छ च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा छ। यसपालिको च्याम्पियन्स लिगमा अन्तिम १६ मा पुगेको लिभरपुल पहिलो लेगमा रियल म्याड्रिडसँग ५–२ ले पराजित भइसकेको छ। तर लिगका लगातार पाँच खेलमा अपराजित रहेपछि लिभरपुलले शीर्ष चारको दौडमा आफूलाई मजबुत बनाएको छ।

‘हामी च्याम्पियन्स लिगमा छनोट हुने दौडबाट बाहिरिएका छैनौँ। कसैले पनि हामीलाई कमजोर नआकुन्। हामीले पनि यो बिन्दूबाट आफूलाई थप बलियो बनाउँदै लानुपर्छ,’ क्लपले भने।

युनाइटेड सन् २०१६ यता एनफिल्डमा विजयी हुन सकेको छैन। आइतबार साँझ त्यहाँ पुग्दा युनाइटेड यो तथ्यसँग जानकार थियो। त्यसैकारण टेन हागले आफ्ना खेलाडीलाई सतर्क गराएका थिए, एनफिल्डमा लिभरपुलसँग भिड्न सजिलो हुने छैन भनेर।

तर सतर्कता अपनाए पनि युनाइटेडको रक्षापंक्तिलाई लिभरपुलको अग्रपंक्तिले भत्काएरै छाड्यो। पहिलो हाफ सकिनै लाग्दा युनाइटेडले पहिलो गोल खायो। गाक्पोले एन्डी रोबटर्सनबाट आएको बललाई युनाइटेडको पोस्टतिर पठाइदिए।

यो त केवल सुरुवात थियो। यस्तो लाग्थ्यो, गाक्पोले गोलको ढोका खोलेका छन् र अब धमाधम गोल हुनेवाला छ। भयो पनि त्यस्तै। दोस्रो हाफ सुरु हुनसाथ लिभरपुलले अग्रता दोब्बर बनायो। हार्भी इलियोटको क्रसमा नुनेजले हेडर गोल गरे।

त्यसको केही मिनेटपछि गाक्पोको गोल गर्ने पालो आइहाल्यो। यसपालि लिभरपुलका तीनै फरवार्ड काउन्टर अट्याकमा साथै अघि बढे। गाक्पोले गरेको दोस्रो व्यक्तिगत गोलको असिस्ट भने सलाहको नाममा रह्यो।

लिभरपुलले तत्काल गोलको अन्तरर बढाउने मौका पाएको थियो। तर रोबर्टसन र इब्राहिम कोनाटेका हेडर पोस्टमाथिबाट बाहिरिए। सलाहले ६६ औँ मिनेटमा पहिलो गोल गरे। त्यसपछि ८५ औँ मिनेटमा दोस्रो पटक गोलकर्ता बन्दा उनको गोल ‘ट्याप इन’ थियो। युनाइटेडको खराब रक्षात्मक प्रदर्शनका कारण उनले त्यस्तो गोल गर्न सकेका थिए।

लिभरपुलको छैटौँ गोल गरेसँगै सलाह क्लबको इतिहासमा नाम लेखाए। अब उनको परिचय थपिएको छ, उनी लिभरपुलका लागि सर्वाधिक प्रिमियर लिग गोल गर्ने खेलाडी बनेका छन्। यसअघि लिभरपुलका लागि रब्बी फाउलरले प्रिमियर लिगमा १२८ गोल गरेका थिए।

‘विशेष अनुभव गरिरहेको छु। वास्तवमा भन्दा यो कीर्तिमानबारे म जानकार थिए। लिभरपुल आउँदै गर्दा यो कीर्तिमान आफ्नो नाममा पार्न सकिन्छ कि जस्तो लागेको थियो। पहिलो सिजनपछि चाहिँ आशा झन् बलियो बन्यो,’ जितपछि प्रतिक्रिया दिए। लिभरपुलसँग आबद्ध भएकै सिजन उनले ३६ लिग खेलमा ३२ गोल गरेका थिए।

लिभरपुलको अन्तिम गोल फर्मिन्होले गरे। जारी सिजनको अन्त्यमा लिभरपुलसँगको बसाइ समापन गर्न लागेको फर्मिन्होको गोलमा एनफिल्ड अरु गोलमा भन्दा बढी उत्सहित बनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =