सहिद स्मारक ए डिभिजन लिग

पहिलो खेलमै हार्‍यो च्याम्पियन मछिन्द्र

हिमाल प्रेस २१ फागुन २०७९ १९:३२
34
SHARES
पहिलो खेलमै हार्‍यो च्याम्पियन मछिन्द्र

काठमाडौँ- गत सिजन एक खेल पनि नहारी ‘सहिद स्मारक ए डिभिजन लिग’ जितेको मछिन्द्र क्लब यसपटक भने पहिलो खेलमै ३-१ गोलले पराजित भएको छ। दशरथ रंगशालामा आइतबार साँझ मछिन्द्रलाई जावलाखेल युथ क्लबले स्तब्ध बनाएको हो। जावलाखेलका लागि हिसुव थपलिया नायक साबित भए। उनले बराबरी गोल फर्काए भने तेस्रो गोलका लागि अस्सिस्ट प्रदान गरे।

गएको सिजनभर जम्मा दुई गोल खाएको मछिन्द्रले यो सिजन पहिलो खेलमै तीन गोल खानुको मुख्य कारण आफ्नै डिफेनसिभ गल्ती रह्यो।

खेलमा मछिन्द्र २३ औं मिनेटमा अघि बढेको थियो। च्याम्पियन टिमलाई देवेन्द्र तामाङले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका थिए। जावालाखेलका विशाल तामाङले ह्याण्ड गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो। फ्रिकिकमा रक्षक देवेन्द्रले सुन्दर गोल गरे।

हिसुव थपलियाले ५९ औं मिनेटमा जावलाखेललाई खेलमा फर्काए। फोडे फोफानाले दिएको पासलाई नियन्त्रणमा लिँदै हिसुवले विशाल श्रेष्ठलाई वान भर्सेस वानमा गोल गरे।

मचिन्द्रले ६४ मिनेटमा दोस्रो गोल आफ्नै गल्तीले खायो। दिवाकार चौधरीले दिएको ब्याक पासलाई नियन्त्रणमा लिने प्रयासमा रहेका विशाललाई एनकोटो मासोएबीले प्रेस गरे। आत्तिएका विशालले बल राम्रोसँग क्लियर गर्न सकेनन्। जसले गर्दा मासोबीले बल भेटे र सजिलै गोल गरे।

जावलाखेलले ७६ मिनेटमा अग्रता ३-१ मा पुर्‍यायो। हिसुवको फ्रिकिकमा कप्तान सिमन्त थापाले हेडर गोल गरे। यस नतिजासँगै मछिन्द्रको १९ खेलको अपराजित यात्रा टुंगेको छ। मछिन्द्र लिगमा अन्तिमपटक ०७६ मा हिमालयन शेर्पासँग पराजित भएको थियो।

त्यस्तै आज आइतबार नै दशरथ रंगशालामा भएको यसअघिको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब बराबरीमा रोकिए। निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन्।

उता च्यासल रंगाशालामा भएको खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम एनआरटीलाई २-१ ले पराजित गर्‍यो। सातदोबाटोका दुवै गोल दिपकराज ठकुरीले गरे। पहिलो हाफमा दुवै टिमले एक-एक गोल गरे। दिपकले सातदोबाटोलाई अग्रता दिलाउन साथ निकोलस सङ्ले बराबरी गोल फर्काए। दिपकले दोस्रो गोल दोस्रो हाफको ४८ औं मिनेटमा गरे। लिगअन्तर्गत सोमबार भने कुनै खेल हुने छैनन्।

प्रकाशित: २१ फागुन २०७९ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =