सुदूरपश्चिमका मुख्यमन्त्री शाहसँग दुई तिहाइ, क-कसले दिँदैछन् विश्वासको मत?

हिमाल प्रेस २१ फागुन २०७९ १२:०६
8
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री शाहसँग दुई तिहाइ, क-कसले दिँदैछन् विश्वासको मत? फाइल तस्बिर

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतबार) विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार आज शाहले विश्वासको मत लिँदैछन्।

केन्द्रमा नयाँ समीकरण (राष्ट्रपति चुनावको सम्मुखमा बनेको आठ दलीय गठबन्धन) बनेसँगै विश्वासको मत पाउन ढुक्क बनेका मुख्यमन्त्री शाहले आज प्रदेशसभाबाट दुई तिहाइ मत पाउने देखिएको छ।

गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने भएका छन्।

यसअघि नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले शक्ति बाँडफाँटमा सम्मानजनक स्थानको माग गर्दै मत दिन आनाकानी गरिरहेकोमा अहिले पार्टीको शीर्ष तहले मत दिन निर्देशन दिएको छ। त्यसपछि गठबन्धनका सबै दलहरू विश्वासको मत दिन तयार भएका छन्।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका एमालेका राजेन्द्रसिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कांग्रेसका शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्दछ।

प्रकाशित: २१ फागुन २०७९ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =