‘फ्ल्युक’ गोलले रोकियो मनाङ, पुलिस र थ्रीस्टारको सुरुवात हारबाट

प्रविण बिक्रम कटवाल २० फागुन २०७९ २१:३३
68
SHARES
‘फ्ल्युक’ गोलले रोकियो मनाङ, पुलिस र थ्रीस्टारको सुरुवात हारबाट मनाङ मर्स्याङ्दी क्लबविरुद्ध गाेल गरेपछि खुसीयाली मनाउँदै हिमालयन शेर्पाका खेलाडी। तस्बिर : एन्फा

काठमाडौँ- खेलको उत्तरार्द्धमा गोल खाएपछि मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गर्नबाट वञ्चित भएको छ। दशरथ रंगशालामा शनिबार मनाङले हिमालयन शेर्पा क्लबविरुद्ध १५ औँ मिनेटमा अग्रता लिएको थियो।

मनाङलाई अग्रता दिलाउन रोशन राना मगरले लामो दूरीबाट गोल गरे। राइट विंगबाट बल अघि बढाएका रोशनले १८ यार्ड बक्सको थोरै बाहिरबाट प्रहार गरेका थिए। बल हिमालयन शेर्पाका रक्षक संजित राईलाई छुँदै गोलमा परिणत भएको थियो।

तर सब्स्टिच्युट सुरेश कुमालले ८५ औँ मिनेटमा आकर्षक गोल गरेपछि आठ पटकको लिग च्याम्पियन मनाङ बराबरीमा रोकियो। राजकुमार कुँवरको स्थानमा मैदान प्रवेश गरेको सुरेशले २६ मिनेटपछि हिमालयनलाई खेलमा फर्काएका थिए।

खेलपछि मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले हिमालयन शेर्पाले ‘फ्ल्युक’ गोल गरेको प्रतिक्रिया दिए। ‘खेल हामीले नियन्त्रणमा राख्यौँ। तर हिमालयनले फ्ल्युक गोल गरेपछि खेल बराबर भएको हो,’ राष्ट्रिय टिमको सहायक प्रशिक्षक रहिसकेका किरणले भने।

हिमालयन शेर्पाको रणनीति ‘लङ बल’ खेल्ने रहेको किरणको जिकिर थियो। ‘हिमालयन शेर्पाका दुई विदेशी खेलाडी ( पिस्टोने भुन्योली मुटाम्बा र मोहम्मद कदु) बलिष्ठ र अग्ला छन्। यसकारण ती दुईका लागि लामो पास खेल्ने, उनीहरूको बलको उपयोग गर्नेबाहेकको रणनीति हिमालयन शेर्पासँग थिएन। हाम्रा खेलाडी होचा भएकाले पनि उनीहरू हाबी भए,’ किरणले भने।

मिडफिल्ड र अग्रपंक्तिमा खेल्ने खेलाडी होचा भएकाले आगामी खेलमा पनि विपक्षीका अग्ला र बलिया खेलाडी हाबी हुनसक्ने आकलन किरणको छ। ‘यो खतरालाई टार्न हामी खेल शैलीमा ध्यान दिनेछौँ। फेरि हाम्रा केही विदेशी खेलाडी पनि आउँदैछन्। उनीहरू मिसिएपछि टिममा सन्तुलन कायम हुने आश छ,’ किरणले थपे।

दोस्रो हाफमा तुलानात्मक रुपमा बढी आक्रामक देखिएको हिमालयन शेर्पाका दुई विदेशी खेलाडी पिस्टोने भुन्योली मुटाम्बा र मोहम्मद कदुले केही सुनौला मौका खेर फाले। गत सिजन १० औँ स्थानमा रहेको हिमालयनको अग्रपंक्तिकाे केन्द्र यी दुई खेलाडी थिए।

तर गोल भने राइटब्याक सुरेशले गरे। सुरेशले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले रोक्न सकेनन्।

हिमालयन शेर्पाका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले पिस्टोने र कदुमा अझै ‘म्याच फिटनेस’ को कमी रहेको प्रतिक्रिया दिए। ‘एक दिनको अभ्यासपछि उनीहरू मैदान उत्रिएका हुन्। अझै फिट छैनन्। टिमका अरु खेलाडीसँग अभ्यस्त हुन बाँकी छ। यसकारण आगामी खेलमा प्रदर्शनमा सुधार हुनेछ,’ सुमनले भने।

हिमालयन शेर्पाले अझै केही विदेशी खेलाडी थपिने बताए। तिनको आगमन र घाइते रहेका विश्वास श्रेष्ठको पूनरागमनपछि टिम थप बलियो हुने सुमनको विश्वास छ।

शनिबार नै भएका अन्य खेलमा नवप्रवेशी क्लब चर्च व्वाइज युनाइटेड क्लबले नेपाल पुलिस क्लबलाई २–१ र नेपाल एपीएफ क्लबले थ्रीस्टार क्लबलाई २–० ले पराजित गरे।

च्यासल रंगशालामा पहिलो पटक आयोजित लिगको खेलमा जित दर्ता गर्न चर्च ब्वाइजले एक गोलले पछि परेको स्थिति उल्टाएको थियो। रविशंकर पासवानले १८ औा मिनेटमा गोल गरेपछि विभागीय टिम खेलमा अघि बढेको थियो।

तर गत वर्ष ‘बी’ डिभिजनको दोस्रो स्थानमा रहँदै शीर्ष श्रेणीमा उक्लिएको चर्च ब्वाइजले पहिलो हाफ सकिनै लाग्दा बराबरी गोल फर्कायो। आशिष चौधरीको गोलले खेलमा फर्किएको चर्च ब्वाइजले दोस्रो हाफको ७० औँ मिनेटमा फ्रान्कलिन कुएटा टाल्लाको गोलमार्फत जित निश्चित गर्‍याे।

शुक्रबारबाट सुरु लिगमा नवप्रवेशी क्लबले आफूहरू कमजोर नरहेको सुरुवाती सन्देश दिएका छन्। उद्घाटन खेलमा खुमलटार युवा क्लबले फ्रेन्ड्स क्लबविरुद्ध ८९ औँ मिनेटमा गोल गरेर तीन अंक बटुलेको थियो।

चार विदेशी खेलाडी मैदान उतारेका एपीएफले थ्रीस्टारलाई २–० ले पन्छायो। एपीफएले दुवै गोल दोस्रो हाफमा फर्काएको थियो। मणी कुमार लामाले ७२ र अर्मान्ड बेडौम ८७ औँ मिनेटमा गोल गरेका थिए।

प्रशिक्षकका रुपमा पुलिसबाट डेब्यु गरेका चेतन घिमिरेले आफ्नो टिमले सोचेभन्दा राम्रो खेल देखाएको प्रतिक्रिया दिए। टिममा अधिकांश खेलाडी युवा र कम अनुभवी रहेकाले तालमेल नमिलिरहेको उनको भनाइ थियो।

‘सानातिना गल्ती भए। तिनै गल्तीका कारण गोल खाइयो। तर समग्रमा सोचेभन्दा राम्रो प्रदर्शन भयो। चार खेलाडीले डेब्यु गरे। अझै केही खेलाडी थपिँदैछन्। आउँदा खेलमा प्रदर्शन सुधारिन्छ भन्ने आश छ,’ राष्ट्रिय टिमका पूर्वफरवार्ड चेतनले भने। उनले आफ्नो टिमको लक्ष्य शीर्ष आठभित्र पर्ने रहेको र त्यसमा सफल हुने अपेक्षा रहेको बताए।

उता चर्च ब्वाइजका सहायक प्रशिक्षक सहायक प्रशिक्षक रमेश दंगालले डेब्यु खेल भएकाले दबाब महसुस गरेको स्वीकार गरे। सुरुवाती पाँच मिनेटभित्रै केही गोलका अवसर सिर्जना गरेको भए पनि गोल नहुँदा थप अप्ठ्यारो परेको उनको भनाइ थियो। ‘लिगको पहिलो खेल भएकाले अभ्यस्त हुन गाह्रो हुनु स्वाभाविक हो। सुरुमै गोल नगर्दा पनि दबाब पर्‍यो। चर्च ब्वाइजको यो रियल गेम होइन। अझ राम्रो हुन्छ,’ रमेशले भने।

प्रकाशित: २० फागुन २०७९ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =