पशु आहाराका लागि उद्योग स्थापना गर्दै देवचुली

हिमाल प्रेस २० फागुन २०७९ २०:५३
122
SHARES
पशु आहाराका लागि उद्योग स्थापना गर्दै देवचुली

नवलपरासी- नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्न लागेको छ। पालिकाले पशु आहारा उत्पादनका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना गर्न लागेको हो। नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरी सहुलियत दरमा किसानलाई प्रदान उपलब्ध गराउने उद्देश्यले साइलेज उद्योग स्थापना गर्न लागेको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए।

नगरपालिकाले साइलेज उद्योगको शिलान्यास गरेको छ। नगरपालिकाभित्र पशुपालन गर्ने किसान धेरै रहेको र दाना तथा आहारामा लागत अत्यधिक खर्च हुँदा किसानले अपेक्षा अनुसारको नाफा गर्न नसकेकाले उत्पादन लागत घटाउन उद्योग स्थापना गर्न लागेको नगर प्रमुख न्यौपानेले बताए।

पालिकाले उद्योग स्थापना गरी साइलेज तयार पार्ने र सहुलियत दरमा किसानलाई बिक्री गर्ने योजना बनाएको न्यौपानेले बताए। ‘अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत बढेको छ,’ उनले भने, ‘किसानहरूले उचित नाफा लिन सकेका छैनन्। उत्पादन लागत घटाउँदै, किसानको नाफा बढाउनका लागि उद्योग स्थापना गर्न लागेका हौँ।’

उद्योग स्थापनापछि पशुपालक किसानलाई राहत हुने उनको भनाइ थियो। उत्पादन लागत बढ्नु, बजारीकरणमा समस्या हुनु लगायत विविध समस्याका कारण कृषि तथा पशु किसान पलायन हुने क्रम बढेकाले यस पेसालाई जोगाउन उद्योग स्थापना गर्न लागेको पालिकाको भनाइ छ।

उद्योग स्थापनाका लागि पालिकाले योजना बनाए पनि यसको दिगो सञ्चालनका लागि सबै किसानको सहकार्य आवश्यक रहेको नगर प्रमुख न्यौपाने बताउँछन्। ‘किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ,’ उनले भने, ‘अब हामी स्थानीयस्तरमै उत्पादन गर्छौँ। यसले किसानलाई लाभ मिल्ने छ।’

पालिका आफैले पशु आहारा उत्पादन गरी किसानलाई सहुलियत रुपमा प्रदान गर्ने यो कार्यक्रम देशभरिका पालिकामध्ये देवचुलीमा पहिलो रहेको न्यौपानेको दाबी छ। उद्योग सञ्चालनको पहिलो वर्ष किसानलाई मल र मकै को बीउ निःशुल्क उपलब्ध गराइने न्यौपानेको भनाइ थियो।

नगर उपप्रमुख पार्वता तिवारीले पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि उद्योग स्थापना गर्न लागिएको बताइन्।

नगरपालिका र गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमको साझेदारीमा पालिकाको ६४ लाख रुपैयाँ र प्रदेश सरकारको एक करोड ५० लाख रुपैयाँ गरी कूल दुई करोड १४ लाख रुपैयाँ लागतमा साइलेज उद्योग स्थापना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए। रासस

प्रकाशित: २० फागुन २०७९ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =