पाल्पामा आरन व्यवसाय : नगरौं पुर्ख्यौली पेसा, गरौं कोइला अभाव

हिमाल प्रेस २० फागुन २०७९ १४:४१
12
SHARES
पाल्पामा आरन व्यवसाय : नगरौं पुर्ख्यौली पेसा, गरौं कोइला अभाव तस्बिर- रासस

पाल्पा– विश्वकर्मा समुदायको पुख्र्यौली व्यवसायका रूपमा आरन व्यवसायलाई लिइन्छ। यस समुदायका सबैका घर-घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो।

विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो। अचेल भने गाउँघरमा पहिलेजसो व्यावसायिक रूपमा आरन चलाउने कमै छन्। यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउबाजेले धान्दै आएको व्यवसाय युवापुस्ताले अवलम्बन नगर्दा व्यावसायिक रूपमा आरन धान्ने कम छन्।

पाल्पाको बगनासकाली गाउँपालिका-९ बगनास बस्ने ४६ वर्षीय राजु विश्वकर्माले कोइलाको अभावमा व्यवसाय धान्न समस्या रहेको गुनासो गरे। बाउबाजेको पालादेखि नै चलाउँदै आएको व्यवसाय अहिले आफूले पनि निरन्तर रूपमा धान्दै आएको उनी बताउँछन्।

गाउँघरमा कोइलाको अभावले गर्दा आरन व्यवसाय धान्न अप्ठ्यारो परेको उनले बताए। ‘आरन व्यवसाय धान्न कोइलाको समस्या छ, गाउँमा अचेल कोइला पाइन छाड्यो,’ उनले भने, ‘किनेर चलाउनु पर्दा व्यवसाय धान्न अप्ठ्यारो परिरहेको छ, कोइलाको बन्दोबस्त कतैबाट नहुँदा व्यवसाय कसरी धान्ने भन्ने पिरलो छ।’

उनले अहिले कोइला किनेर दुःखसुखले पुर्ख्यौली व्यवसाय धानिरहेका छन्। हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामबाट बन्ने घरायसी प्रयोजनका सबैजसो औजार बनाउँछन्।

पाल्पाको प्रख्यात बगनासे साँचोसमेत उनले तयार पार्छन्। उनले न्यूनतम २ सयदेखि एक हजार ३ सय रुपैयाँसम्मका सामग्री तयार पारेर बिक्री गर्छन्। उनी यस व्यवसायबाट मासिक ३० हजार बराबर कमाइ गर्दै आएका छ।

‘बाउबाजेबाट सिप सिकेर अहिलेसम्म निरन्तरता दिइरहेको छु, आरनबाटै घरखर्च चलाइरहेको छु, व्यावसायिक रूपमा काम गर्ने कम छन्, दैनिक घरायसी प्रयोजनका लागि चाहिने सामग्री भएकाले टाढा टाढाबाट ग्राहक खोजी खोजी आउँछन्,’ उनले भने।

अहिले उनले भैंसी बाँध्ने गोठमा आरन व्यावसाय चलाइरहेका छ। व्यवसायमा वेल्डिंग मेशिन, काट्ने मेशिन, छेड्ने मेशिन, कोइलाको आवश्यकता रहेको हुँदा विभिन्न संघ-संस्थाबाट उनले सहयोगको अपेक्षा गरेका छन्।

सबैले छाड्दै गएको अवस्थामा आफूले भने यो व्यवसायलाई सकेसम्म नछाड्ने अठोट राखेका छन्। उनले घरमा तयार पारिएका विभिन्न सामग्री तानसेनको नारायणस्थान बजारको सडक छेउमा बसेर बिक्री गरिरहेका छ। विश्वकर्मा विभिन्न स्थानमा हुने मेला महोत्सवमा बिक्रीका लागि सामग्री बोकेर पुग्छन्।

गाउँघरमा लोप हुँदै गरेको यस व्यवसायमा आफू सन्तुष्ट रहेको उनी बताउँछन्। वैदेशिक रोजगारको सिलसिलामा कतार र साउदीमा करिब ७ वर्ष काम गरेर स्वदेश फर्केपछि उनी घरमै बसेर आरन व्यवसायमा रमाइरहेका छन्।

उनले अर्काको देशमा दुःख गर्नुभन्दा हातमा सिप भएपछि घरमै बसेर काम गर्दा रमाइलो लागिरहेको अनुभव सुनाए। उनले आफ्नै घरमा स्वतन्त्रसँग परिवारको साथमा आफ्नो सिपलाई व्यावसायिक रूपमा प्रयोग गरिरहेका छ।

रामपुर नगरपालिका-५ सुन्दरटोलका ६५ वर्षीय इन्द्रबहादुर विक पनि यस व्यवसायमा संलग्न छन्। उन घरको एक छेउमा जस्तापाता लगाएको छानोमुनि बसेर आरनको काम गर्छन्।

उमेर वृद्धावस्थातिर लागे पनि समुदायबाट यो व्यवसाय लोप हुँदै गएकामा उन चिन्ता व्यक्त गर्छन्। विकले यो व्यवसाय साढे चार दशकदेखि धान्दै आएका छन्।

घरमै बसेर एक महिनामा २० हजारदेखि ३० हजारसम्म कमाउन सकिने उनले बताए।

हातले कुदेर कलात्मक रूप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायतका विभिन्न सामग्री बनाउने गर्छन्।

हातले कुँदेर बनाइएको कोदालो, बञ्चरो आकार हेरेर छ सयदेखि १ हजार, हँसिया एकदेखि ३ सयसम्ममा बिक्री गर्ने गरेको उनले बताए।
पहिले गाउँमा प्रशस्त मात्रामा कोइला पाउँदा व्यवसाय सजिलोसँग धानिए पनि अहिले भने कोइला पाउन गाह्रो हुँदा सबैले छाड्दै गएको विक बताउँछन्।

‘घरपिच्छे आरन चल्थ्यो, कोइला गाउँमा जताततै सित्तैमा पाइन्थ्यो, व्यवसाय चलाउन समस्या थिएन, कोइला बिना आरन चल्दैन, कोइलामा लगानी गर्नुपर्दा व्यवसायीलाई समस्या थपिएको छ,’ उनले भने।

गाउँघरमा भने पछिल्लो समय आरन चलाउने युवा कोही पनि छैनन्। विश्वकर्मा समुदायका पाका पुस्ता आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन्।

स्थानीय सरकारले कोइला र आरन व्यवसायका लागि आवश्यक पर्ने औजार र छाप्रो व्यवस्थापनमा सहयोग गरिदिए व्यवसायलाई व्यवस्थित बनाउने सम्बद्ध व्यवसायीको माग छ।

घरमै बसेर जुनसुकै समय व्यवसाय चल्ने भएकाले यसबाट राम्रै आम्दानी गर्न सकिन्छ। -राससको सहयोगमा

प्रकाशित: २० फागुन २०७९ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =