आठदलीय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति : शरदसिंह भण्डारी

हिमाल प्रेस १९ फागुन २०७९ १९:०९
10
SHARES
आठदलीय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति : शरदसिंह भण्डारी

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (जसपा)का नेता शरदसिंह भण्डारीले आठदलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पारेका छन्।

शुक्रबार जनकपुरधाममा आठदलीय सत्तागठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको उनको भनाइ छ। कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने उल्लेख गरे।

सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरू, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको उनले बताए।

भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि पनि बनेको बताए।

उनले यसअघिको सत्तागठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गरे। शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्तागठबन्धनबाहिर रहेको भण्डारीको भनाइ छ।

‘अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ, अहिले राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला,’ उनले भने।

अभिमुखीकरण कार्यक्रममा आठदलीय गठबन्धनमा आबद्ध ८ वटै दलका नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १९ फागुन २०७९ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =