कर्णाली प्रदेश जनस्वास्थ्यको आफ्नै प्रयोगशाला

हिमाल प्रेस १९ फागुन २०७९ १५:३१
8
SHARES
कर्णाली प्रदेश जनस्वास्थ्यको आफ्नै प्रयोगशाला शुक्रबार प्रयोगशाला उद्घाटन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री पछाईलगायत सरकारी प्रतिनिधिहरू। तस्बिर- रमा केसी/हिमाल प्रेस

सुर्खेत– कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ। विगतमा प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनै पनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अबस्था रहेकोमा अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि सहज हुने भएको छ।

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटनसमेत गरेका छन्।

सो क्रममा मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए।

उनले प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै उनले प्रयोगशालालाई अन्वेषण केन्द्रको रूपमा पनि विकसित गर्न लागिने जानकारी दिएका छन्।

प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए। उनले अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गरे।

उनका अनुसार अब रोगको परीक्षण गर्न बाहिर जानुपर्ने छैन।

प्रयोगशालामा नौ जना प्राविधिकहरूको दरवन्दी भए पनि हाल तीन जना मात्रै पूर्ति भएको छ। अन्य गरी कूल १६ जना जनशक्ति छन्। प्रयोगशालाका ल्याब टेक्निसियन एवम् सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए।

उनले प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने जानकारी दिए।

दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताए।

सो प्रयोगशालामा अन्यत्र भएका झण्डै आधा रकममा रगत, दिसा पिसाव, खकारलगायतको परीक्षण हुने जनाइएको छ। सो अबसरमा निवर्तमान मन्त्री यज्ञबहादुर वुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिइने बताए।

प्रकाशित: १९ फागुन २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =