उपसभामुखको गुनासो : महिला भएकै कारण राज्यबाट पाउनुपर्ने सेवा पनि पाइएन

हिमाल प्रेस १९ फागुन २०७९ १५:२५
22
SHARES
उपसभामुखको गुनासो : महिला भएकै कारण राज्यबाट पाउनुपर्ने सेवा पनि पाइएन फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताएकी छन्। भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन्।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उनले त्यस्ता खालका गतिविधि सहन नसकिने बताइन्। पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको गुनासो छ। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्।

‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गए। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरू रहेछ,’ उनले भनिन्, ‘अनि यो भ्रष्ट चाँही कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र? कस्तो लाग्छ? तपाईंहरूलाई। यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने। म अन्याय र विभेद सहन नसक्ने मान्छे हुँ। म सानो भूँइमान्छे हो।’

उनले आफूमाथि ठूलो विभेद भएको पनि बताइन्। उनले थपिन्, ‘म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थे। भीआईपीको सुविधा प्रयोग गर्दिन भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदा खेरी चाँही आर्मी दिन्थ्यो रे। उहाँहरूलाई चाँही मन्त्री सरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने पनि बताइन्।

प्रकाशित: १९ फागुन २०७९ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =