गगन थापा भन्छन् : हाम्रो अहिलेको राष्ट्रपति भात खानुहुँदैन भुजा ज्युनार गरिबक्सिन्छ

हिमाल प्रेस १९ फागुन २०७९ १५:०२
42
SHARES
गगन थापा भन्छन् : हाम्रो अहिलेको राष्ट्रपति भात खानुहुँदैन भुजा ज्युनार गरिबक्सिन्छ फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। आठ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।

उनले नेपालमा राष्ट्रपति धेरै फुर्सदीलो भएर बिग्रिएको पनि बताए। उनले भने, ‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेर काम गरोस्। राष्ट्रपति फुर्सदिलो हुन्छन्। अनि चकचक गर्न मन लाग्छ। काम गर्ने हो भने कत्ति छ कत्ति।’

राष्ट्रपतिले राजाको भद्धा नक्कल गरेर समस्या भएको थापा बताउँछन्। ‘राजाको भद्धा नक्कल गर्ने
खालको राष्ट्रपति बनाएका छौँ। उहाँ भात खानुहुन्न। भुजा ज्युनार गरिबक्सिन्छ, राष्ट्रपति हिँड्नुहुन्न सवारी चल्छ,’ उनले भने, ‘हामीले सवारी चलाउने, भुजा ज्युनार गर्ने राष्ट्रपति खोजेको होइन। हामीले त जनताको राष्ट्रपति खोजेको हो। नयाँ आउने राष्ट्रपतिले शीतल निवासप्रति श्रद्धाले शीर निहुराउने बनाउनुपर्छ।’

राष्ट्रपतिले संविधानको संरक्षणसँगै पालना गर्नुपर्ने उनको भनाइ छ। थापाले राष्ट्रपतिले गल्ति नगर्ने, मनमौजी ढंगले काम नगर्ने भन्ने कुरा सबैलाई विश्वासमा दिलाएर काम गर्नुपर्ने पनि बताए।
‘संविधानको संरक्षण गर्न सजिलो छ तर पालना गर्नु गाह्रो भइरहेको छ। संवैधानिक राष्ट्रपति हो हाम्रो। राष्ट्रपतिले गल्ति गर्दैन,’ उनले भने, ‘किन भने राष्ट्रपतिले मनमौजी ढंगले काम गर्दैन। सरकारको स्वीकृतीको आधारमा काम गर्छ। मन्त्रिपरिषद्‌को स्वीकृतीमा मात्रै हुन्छ।’

त्यस्तै उनले प्रदेश, स्थानीय र संघ सरकार मिलेर गठबन्धन किन गरियो भन्नेबारे काम गरेर जवाफ दिनुपर्ने अवस्था रहेको पनि बताए। ‘राम्रो काम गरौँ हामीले गठबन्धन किन गर्नुपर्‍यो भन्नेबारे भनिराख्नै पर्दैन’ उनले भने।

प्रकाशित: १९ फागुन २०७९ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =