संगीतमा एन्जेलाका चार दशक

संगीता श्रेष्ठ २० फागुन २०७९ १६:०१
326
SHARES
संगीतमा एन्जेलाका चार दशक

‘कबाट कछुवा ख खरायो, एउटा थियो कछुवा एउटा खरायो’

खरायोको सिङ छैन कता हरायो, कता हरायो भन कता हरायो’

तीन दशकअघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘चोट’को यो गीत अहिले पनि उत्तिकै चर्चित छ। विशेष गरी बालबालिकाबीच। पहिलोपटक कख सिक्दा यो गीत नसुन्ने बच्चा सायदै होला। गीतबाट नानीबाबुले ‘कबाट कछुवा, खबाट खरायो’ मात्र सिक्दैनन्, कछुवा र खरायोको कथा पनि थाहा पाउँछन्।

नयाँ पुस्तामा गीत चर्चित छ। धेरैको जिब्रोमा झुन्डिरहेको हुन्छ। गीतकी गायिका दीपा झालाई पनि सबैले चिन्छन्। तर गीतको कोरसमा गाउनेबारे कसैलाई थाहा छ त! कोरसमा गाउनेलाई कमैले चिन्छन्। कोरस गाउनेहरू पर्दापछाडिका ‘हिरो’ जस्तै हुन्।

‘कबाट कछुवा’ गीतको कोरसमा पनि सात जना बालबालिकाले गायिका दीपा झालाई साथ दिएका थिए। त्यसमध्ये एक हुन्, एन्जेला श्रेष्ठ। अर्थात् उनी त्यस गीतकी पर्दापछाडिकी हिरो हुन्। यो गीत गाउँदा एन्जेलाको उमेर ११ वर्ष थियो। यो गीत रेडियो नेपालमा रेकर्ड गरिएको थियो।

हुन त एन्जेला ६ वर्षको उमेरमै स्टेजमा उक्लिएकी थिइन्। सिद्धार्थ वनस्थली पढ्दाताका अभिभावक दिवसको अवसरमा ‘मधुवन खुशबू देता है’ हिन्दी गीत गाएकी थिइन्। जबकि त्यतिबेला उनलाई गीतको बोलको अर्थ पनि थाहा थिएन। ‘राम्ररी खुशबू भन्न पनि आउँदैनथ्यो,’ उनले भनिन्, ‘खुबशू भन्ने गर्थें। तर त्यहाँ उपस्थित सबैलाई मेरो स्वर खूब मन पर्‍यो।’ उनको मीठो स्वर सुनेर हजारौँको भीड रहेको हलमा तालीको पर्रा छुट्यो।

२०३० सालमा काठमाडौँको असन, महाबौद्धमा जन्मिएकी हुन् उनी। सानी एन्जेला बोल्दा तोते बोली भए पनि गीत गाउँदा प्रस्टै गाउँथिन्। गीतसंगीत सुन्नेबित्तिकै कान ठाडा पार्थिन्। गीत गुनगुनाउन थालिहाल्थिन्। हजुरआमाबुबा, आमाबुबा, काकाकाकी भएको संयुक्त परिवारमा हुर्किएकी उनले गीत गाउन सबैबाट साथ पाएकी थिइन्।

४ वर्षको उमेर, कक्षा नर्सरीमा पढ्दा उनी खेल्दाखेल्दै लडिन्। खुट्टा भाँचियो। डेढ महिना अस्पतालमै बिताउनुपर्‍यो। सानी नानीको मीठो स्वरले त्यहाँ काम गर्ने नर्सहरूलाई लोभ्यायो। नर्सहरूले दिनहुँ उनलाई गीत गाउन लगाउँथे। गाउन हौस्याउँथे। उनले पनि गाइदिन्थिन्। पुरस्कारमा पाउँथिन्, भिटामिनका गुलिया गोली। ‘भिटामिनका ती गुलिया गोली खान नर्सहरूले गीत सुनाऊ भन्दा गाइदिन्थेँ,’ उनले सम्झिइन्।

‘गड गिफ्टेड’ स्वरलाई थप निखार्न उनले संगीतको औपचारिक शिक्षा लिने सोच बनाइन्। प्रज्ञा–प्रतिष्ठानबाट संगीत अध्ययन थालिन्। संगीत गुरु भए अम्बर गुरुङ, दीप श्रेष्ठ, ज्ञानु राणा, शम्भुजित बाँस्कोटा।

सिक्दै गएपछि स्वर झन्झन् निखारिँदै गयो। संगीतको रियाजले स्वर अझै सुरिलो बन्दै गयो। उनले विभिन्न विज्ञापनका लागि जिंगल गाउने मौका पाइन्। गोरखकाली टायर, जीवनजललगायत विभिन्न विज्ञापनका लागि जिंगल गाइन्। अहिलेसम्म २५–३० वटा जति विज्ञापनका लागि जिंंगल गाइसकेको उनी बताउँछिन्।

दुइटा एकल एल्बम निकालेकी छन्। तीन सयभन्दा बढी गीतमा स्वर दिएकी छन्। थुप्रै म्युजिक भिडियोमा काम गरेकी छन्। उनको ‘मुटुको धडकन दिन्छु’ गीत धेरैले मन पराएका छन्। नेवारी गीत पनि गाउँछिन्। दुर्गालाल श्रेष्ठ र न्ह्यु वज्राचार्यको शब्द र संगीत रहेको ‘कसी चव्गु गमलाय्’ नेवारी गीत चर्चित छ। गीतमा एन्जेलाको स्वर छ। नेपाली, नेवारीमात्र नभएर हिन्दी, पंजाबी र गुजराती भाषामा समेत गीत रेकर्ड गराएकी छन्।

सन् १९९८ मा भारतीय टेलिभिजन जी टीभीबाट प्रसारण हुने कार्यक्रम ‘अन्ताक्षरी’को अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा नेपालबाट उनी पनि छनोट भएकी थिइन्। प्रतियोगितामा जित्न नसके पनि सहभागी हुने अवसर भने पाएकी थिइन्।

त्यस्तै सांगीतिक कार्यक्रम ‘जी टीभी सारेगामापा’का लागि नेपालबाट आनन्द कार्की, नरेन्द्र प्यासी, शर्मिला बर्देवा, सुरेश मानन्धर, सुनीता शर्मासँगै उनी पनि छानिएकी थिइन्। त्यसका लागि यी ६ जना लन्डन पुगेका थिए। सो प्रतियोगितामा पनि एन्जेला छिट्टै बाहिरिइन्। तर लन्डनमा सांगीतिक कार्यक्रम भने जारी नै राखिन्। समयसमयमा नेपाल आउँथिन्। तर धेरैजसो समय लन्डनमा बस्थिन्। यसै गरी उनले जीवनका १२ वर्ष त्यहाँ बिताइन्।

२०५७ सालमा उनको बिहे भयो। बिहेपछि पनि उनको सांगीतिक यात्रा चलिरह्यो। लन्डनमा हुँदा अध्ययनलाई पनि निरन्तरता दिइन्। ‘इलिङ ह्यामरस्मिथ एन्ड वेस्ट लन्डन’ कलेजमा अध्ययन गरिन्। सन् २००९ मा लन्डनबाट सधैँका लागि नेपाल फर्किइन्। साधना कला केन्द्रबाट फेरि संगीतको शिक्षा लिइन्। नेपाली गीतसंगीतमा सक्रिय भएर लागिन्।

पलेँटीका सात सिरिजमा सहभागी भएकी छन्, एन्जेला। पलेँटीमा अम्बर गुरुङ, कर्मा योञ्जन, प्रेमध्वज प्रधान, डेजी बराइली, रविन शर्मासँग गीत गाएकी छन्। दीप श्रेष्ठ, अरुणा लामा, कर्ण दास उनका मन पर्ने गायकगायिका हुन्। तर स्टेज कार्यक्रममा कुन्ती मोक्तानका गीत बढी गाउने गरेको उनी बताउँछिन्।

सांगीतिक कार्यक्रमका लागि पोखरा, नारायणघाट, नेपालगन्जलगायत नेपालका विभिन्न ठाउँ पुगेकी छन्। देशबाहिर इंग्ल्यान्ड, स्कटल्यान्ड, स्विट्जरल्यान्ड, चीन, भारतलगायत देश गइसकेकी छन्।

स्रोता–दर्शकले पुरस्कार रूपमा आफूलाई माया र सम्मान दिएको उनी बताउँछिन्। ‘सेलिब्रिटी सिंगर अफ द इयर’, ‘ग्लोबल मोसन पिक्चर्स अवार्ड’ पाएकी छन्।

चार दशकयता संगीतमा सक्रिय एन्जेलाका लागि गाउनु पेसामात्र होइन, जिउने आधार हो। ‘संगीतबिना बाँच्नै सक्दिनँ,’ उनले भनिन्, ‘स्वरले साथ दिँदासम्म गाउनेछु।’

प्रकाशित: २० फागुन २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =