खोटाङको केपिलासगढी र भोजपुरको टेम्के मैयुङ सडक सञ्जालले जोडिए

हिमाल प्रेस १८ फागुन २०७९ २१:४६
8
SHARES
खोटाङको केपिलासगढी र भोजपुरको टेम्के मैयुङ सडक सञ्जालले जोडिए

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका सडक सञ्जालले जोडिएका छन्। केपिलासगढी–१ फेदी र टेम्के मैयुङ–१ तिम्मा जोड्ने छोटो दुरीको फेदी–धोद्रे–भोजपुर सडक सञ्चालनमा ल्याइएपछि दुई पालिका आपसमा जोडिएका हुन्।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीयको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार हुँदै भोजपुरबाट पूर्वीसहर आवतजावत गर्ने छोटो दुरीको सडक सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन्। तराईका जिल्ला आवतजावत गर्दा दुई गाडी परिवर्तन गर्दै आएका स्थानीय अब छोटो समयमा एउटै गाडीमार्फत तराईका जिल्ला पुग्न सक्ने भएका छन्।

फेदीबाट धोद्रे हुँदै भोजपुरबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो दुरीको सडक प्रदेश सरकार र केपिलासगढी गाउँपालिकाको लगानीमा निर्माण गरिएको गाउँपालिका उपप्रमुख गुरुराज राईले बताए। ‘फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीयलाई पूर्वीतराई झर्न दिक्तेल–हलेसी सडकभन्दा छिटो र छोटो दूरी भएको छ,’ उनले भने, ‘यो सडकले अन्तरजिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ।’

फेदीबाट लामो चौरसम्मको सडक निर्माण गर्न गतवर्ष प्रदेश सरकारको ३२ लाख रुपैयाँ तथा केपिलासगढी गाउँपालिकाको ८ लाख रुपैयाँ खर्च गरिएको थियो। लामो चौरसम्मको २६ किलोमिटर सडकखण्डको बाँकी डेढ किलोमिटर खण्ड यस वर्ष गाउँपालिकाको तर्फबाट १० लाख ५० हजार रुपैयाँ बजेट खर्च गरेर निर्माण पूरा गरेपछि सञ्चालनमा ल्याइएको गाउँपालिका उपप्रमुख राईले जानकारी दिए।

भर्खरै सञ्चालनमा ल्याइएको सडकमार्फत झण्डै दुई घण्टामा भोजपुर पुग्न सकिने वातावरण बनेको वडा नं. १ फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए। अन्तरजिल्ला जोड्ने सडक गत सोमबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराजले संयुक्त रूपमा उदघाटन गरेका थिए।

प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत पर्ने उक्त सडक स्तरोन्नतिका लागि यस वर्ष प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकासँगको साझेदारीमा निर्माण गर्नुपर्ने उक्त सडकखण्डको फेदीस्थित ढुग्रीखोलादेखि शुक्रबारेसम्म ढलान गर्ने गरी टेन्डर (बोलपत्र आह्वान) गरिएको छ। प्रदेश सरकारको साझेदारीमा निर्माण सुरु गरिएको उक्त सडकमा गाउँपालिकाले यस वर्ष १० लाख रुपैयाँ थप गर्नुपर्ने छ।

यस वर्ष स्तरोन्नतिका काम हुने उक्त सडकखण्डलाई चाँडै कालोपत्रका लागि प्रक्रिया थालिने गाउँपालिका उपप्रमुख राईले बताए। रासस

प्रकाशित: १८ फागुन २०७९ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =